वेबटिभी खबर
काठमाडाैं । क्यानडा, अमेरिका, साइप्रसमा यतिवेला गर्मी अत्यधिक बढेको छ । जाडो मौसममा शून्यभन्दा पनि कम तापक्रम हुने अधिकांश क्षेत्रमा यतिखेर गर्मीले रेकर्ड कायम भएकाे छ। ती क्षेत्रमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड भएकाे छ । गर्मीका कारण ती देशका विभिन्न क्षेत्रमा सयौं जंगली डढेलो लागेका छन् । साइप्रसको जंगलमा लागेको आगो निभाउनका लागि विभिन्न देशहरुले विमान पठाएका छन् ।
यसलाई देशको इतिहासमै सबैभन्दा भिषण आगो भनिएको छ । ग्रीस, इटाली र इजरायलले पनि साइप्रसलाई सहयोग गर्ने वचन दिएका छन् । साथै बेलायती सेना पनि यस आगलागी नियन्त्रण गर्न खटिएका छन् ।
गर्मीसँगै तीव्र गतिमा आएको हावाका कारण जंगलमा आगो झन् बढ्दै गइरहेको छ । दक्षिणी लिमासोल जिल्लामा आगलागी व्यापक भएपछि जोखिममा परेका गाउँहरु खाली गराइएको छ ।
आइतबार त्यहाँ आगलागीमा परेर ४ जना इजिप्टका मजदूरको मृत्यु भएको पुष्टि भएको छ । ती मजदूरहरु चढेको कार डढेलोमा परेर बेपत्ता भएको थियो । स्थानीय मिडियाका अनुसार उनीहरूको कार ओडोस गाउँमा फेला परेको थियो भने उनीहरूको शवहरू यसबाट करिब चार सय मिटर टाढामा भेटिएको थियो ।
साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाड्सले ट्राउडोस पर्वतको फेदमा भएको आगलागीलाई ‘त्रासदी’ भनेका छन् र्। राष्ट्रपतिले सरकार पीडित र उनका परिवारलाई तत्काल सहायता उपलब्ध गराउने पनि बताए । उनले आइतबार एक राहत शिविर र प्रभावित क्षेत्रको पनि भ्रमण गरेका थिए । यसैबीच प्रहरीले आगो लगाएको आशंकामा ६७ वर्षका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
क्यानाडामा पनि तापक्रम वृद्धि भएपछि जंगलमा लागेको डढेलोपछि सहयोगका लागि तयार रहन सेनालाई आग्रह गरिएको छ । प्रभावित क्षेत्रनजिक रहेका समुदाय आगलागीको चपेटामा पर्न सक्ने डर रहेको छ । क्यानडाकाे ब्रिटिश काेलम्बिया क्षेत्रमा १७० भन्दा धेरै जंगली डढेलाे फैलिएकाे त्यहाँका अधिकारीले बताएका छन् । गर्मीका कारण क्यानडाकाे पश्चिमी क्षेत्रमा जनजीवन प्रभावित भएकाे छ । मंगलबार लिटनमा ४९ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएकाे थियाे ।
क्यानडाको ब्रिटिश कोलम्बिया राज्यभर सयौं डढेलो
क्यानडामा उच्च गर्मी भएको एउटा गाउँभर आगलागी
क्यानडामा अत्यधिक गर्मीका कारण १३० को मृत्यु
अमेरिका र क्यानडामा अत्यधिक गर्मी [७ तस्बिर]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij