Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

महले बजार नपाएपछि पलायन हुँदै किसान

महले बजार नपाएपछि पलायन हुँदै किसान

  • 133
    SHARES
  • महले बजार नपाएपछि पलायन हुँदै किसान

    चितवन । चितवन जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन ।

    चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन । नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार गतआवमा १६ हजार पाँच सय किसान मौरीपालन व्यवसायमा रहेकामा यस वर्ष घटेर १३ हजार आठ सयमा झरेका छन ।

    अध्यक्ष घिमिरेले भने, ‘बजारीकरणमा समस्या हुँदा किसानले व्यवसाय छाडेर पलायन हुनुपर्ने अवस्था आएको छ ।’ कतिपय किसान विदेशिएका छन् भने कतिपयले व्यवसाय परिवर्तन गरेको उनले जानकारी दिए ।

    चरनको अभाव र बिदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएका छन ।  अध्यक्ष घिमिरेले भने, ‘बजारमा विदेशी मह बिक्री भइरहेको छ । नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ।’

    विभिन्न स्थानमा मौरी चराउन जाँदा विषादि हालीदिने, चोरी हुने र स्थानीय तहहरूले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै आनाकानी गर्ने गरेकाले समेत किसान पलायन हुँदै गएको उनको भनाइ छ ।

    अध्यक्ष घिमिरेले भने, ‘किसान पलायन हुनुको मुख्य कारण चरन क्षेत्रको अभाव त छँदै थियो तर अहिले बजारीकरणको समस्या झन् बढी भयो । विभिन्न ब्राण्डका नाममा विदेशी मह बिक्री हुने गरेको छ ।’

    नेपालमा वार्षिक चार हजार दुई सयदेखि चार हजार पाँच सय मेट्रिक टनसम्म मह उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित महमध्ये दुई हजार मेट्रिक टन मह गोदाममा थन्किएको उनले बताए ।

    गत वर्षको एक हजार पाँच सय मेट्रिक टन मह अझै बिक्री हुन नसकेको उनले गुनासो गरे ।  अध्यक्ष घिमिरेले भने, ‘गुणस्तरीय भण्डारणको अभावका कारण घरमा खाटामुनि मह राख्नुपरेको छ ।’

    आयातित महलाई सामान्य भन्सारको व्यवस्था भए नेपाली महले बजार पाउन सक्ने  अध्यक्ष घिमिरेले बताए । खुला बजार नीतिका कारण मौरीपालन गर्ने किसान समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

    ब्राण्डका नाममा अन्तर्राष्ट्रिय बजारमा नबिकेको मह नेपालमा आउने गरेका छन । आफूहरूले उपभोक्ता र सरकारलाई बुझाउन नसक्दा समस्या बढ्दै गएको उनले गुनासो गरे । मौरीपालन गर्दै आएका किसानले महले बजार नपाएपछि आन्दोलनको तयारी गर्न थालेको  अध्यक्ष घिमिरेले जानकारी दिए ।

    महासंघले चरणबद्ध आन्दोलन गर्ने भन्दै किसानसँग सल्लाह गरेका छन । अध्यक्ष घिमिरेले भने, ‘किसानले मह पोख्ने र मौरी उडाउने कार्यक्रम गर्न दबाब दिइरहेका छन् । तर हामी चरणबद्धरूपमा अघि बढ्ने योजनामा छौँ ।’

    नेपालमा दुई जातका मौरी पालिँदै आइएको छ । एक लाख ६० हजार घार मेरीफेरा र एक लाख ७० हजार सेरेना मौरी पालिँदै आइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij