वेबटिभी खबर
एजेन्सी । अरब सागरमा डुंगा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ ।
गत मार्च ५ मा उक्त माछा मार्ने डुंगा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजीकार्य सुरु गरेका थिए ।
सेनाको जनसम्पर्क शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘करिब एक हप्ताको अन्तरालमा १२ व्यक्ति शव पानीको गहिराईबाट निकालिएको छ ।’
‘बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी छ,’ विज्ञप्तिमा भनिएको छ । पाकिस्तानमा कमजोर सडक, असुरक्षित जलमार्ग, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण घातक यातायात दुर्घटनाहरू हुने गरेका छन् ।
पाकिस्तानी सेनाले यसअघि भारतीय सीमा नजिकैको खुला समुद्रमा ‘प्रतिकूल मौसमका कारण’ डुङ्गा पल्टिँदा डुंगामा चालक दलका ४५ सदस्य रहेको बताएको थियो ।
पाकिस्तानमा मनोरञ्जनका लागि प्रयोग गरिने डुंगा र सानातिना काममा प्रयोग हुने मोटरबाट चल्ने डुंगा प्रायः ओभरलोड हुन्छन् जसले दुर्घटना निम्त्याउने गर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij