वेबटिभी खबर
काठमाडौं । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा अध्ययनरत दुई जनालाई अतिरिक्त शुल्क नबुझाएकामा स्पष्टीकरण सोधेको छ । एमबीबीएस पाँचौं वर्षमा अध्ययनरत रामजी राम र पंकज रामलाई परीक्षा आवेदन फाराम भर्न नदिई स्पष्टीकरण सोधिएको हो ।
परीक्षा आवेदन फाराम भर्ने अन्तिम दिन सोमबार फाराम भर्न नदिइएको रामजीले बताए । ‘शुल्क माग्दा किन शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा उजुरी दिएको भनेर २४ घण्टे स्पष्टीकरण मागिएको थियो,’ उनले सोमबार साँझ भने, ‘स्पष्टीकरण दिएका छौं, चित्तबुझे फाराम भर्न दिन्छौं, नबुझे दिँदैनौं भनिएको छ ।’ कलेजका सञ्चालक बसरुद्दिन अन्सारीको निर्देशनमा स्पष्टीकरण सोधिएको विद्यार्थीको भनाइ छ । उनी निजी मेडिकल कलेज सञ्चालकहरूका तर्फबाट आयोगको सदस्यसमेत छन् ।
यसअघि पनि गत पुसमा उनीहरूलाई कलेजले अतिरिक्त शुल्क नबुझाएको भन्दै चौथो वर्षको परीक्षामा सहभागी हुन रोकेको थियो । आईओएमको निर्देशनपछि उनीहरूले परीक्षा दिन पाएका थिए । पाँचौं वर्षको आवेदन फाराम भर्न जाँदा ८ लाख ७३ हजार शुल्क मागिएको रामजीले सुनाए । ‘वार्षिक शुल्क, होस्टल र इन्टरनेट शुल्क भनेर रकम मागिएको छ,’ उनले भने, ‘म होस्टल नै बसेको छैन । होस्टलले नबसेको पत्र दिएन, कलेज प्रशासनले शुल्क मागिरहेको छ ।’
छात्रवृत्तिमा अध्ययनरतसँग होस्टलबाहेक अरू शुल्क लिन पाइँदैन । मेडिकल कलेजहरूले भने अनिवार्य होस्टलमा बस्नुपर्ने व्यवस्था गरेर शुल्क जबर्जस्ती असुल्दै आएका छन् । ‘पहिले होस्टल बसेको थिएँ, अहिले बस्दिनँ, पहिले बसेको पैसा तिरिसकें, अहिले फेरि मागिरहेको छ, मसँग तिर्न त्यति पैसा नि छैन,’ उनले भने । आईओएम र आयोगले यस विषयमा कलेजसँग स्पष्टीकरण मागिएको जनाएका छन् ।
गत पुसमा नेसनल मेडिकल कलेजले ७ लाख ५१ हजार अतिरिक्त शुल्क नबुझाएको भन्दै उनीहरूलाई परीक्षाबाट वञ्चित गरेको थियो । सरकारले २०७२ सालमा डोम, बादी, मुसहर र चमार जातिलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय गरेपछि उनीहरू सोही कोटामा नेसनलमा भर्ना भएका थिए । उनीहरूसँग प्रत्येक वर्ष बढी शुल्क मागिँदै आएको छ ।
रामजी एमबीबीएस प्रवेश परीक्षामा उत्तीर्ण भएपछि ललितपुरको किस्ट मेडिकल कलेज गएका थिए । उनलाई किस्टले पनि भर्ना लिन मानेको थिएन । सर्वोच्च अदालतको आदेशमा उनी नेसनलमा भर्ना भएका हुन् । किस्टले त्यतिबेला १५ लाख अतिरिक्त शुल्क मागेर भर्ना नलिएको उनले सुनाए । मेडिकल कलेजहरूले एमबीबीएसलगायत चिकित्सा शिक्षाका विषय अध्ययन गर्ने विद्यार्थीसँग अतिरिक्त शुल्क उठाउँदै आएका छन् । होस्टल बस्नुपर्ने बाध्यकारी नियम बनाएर पैसा लिने गरिएको छ ।
कलेजका सञ्चालक अन्सारीले कलेजविरुद्ध विभिन्न निकायमा उजुरी दिएकाले सोधपुछ गरिएको प्रतिक्रिया दिए । उनले भने, ‘उनीहरूको खासै ठूलो समस्या हैन, छलफलबाट मिल्छ । भोलि (मंगलबार) सम्म टुंगो लाग्छ, चिन्ता गर्नुपर्दैन ।’ कान्तिपुर दैनिकमा खबर छ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij