वेबटिभी खबर
सर्लाही । सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ ।
स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो । गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन ।
योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन । जिल्लामा फेला परेका क्षयरोगीमध्ये धेरै हरिवन नगरपालिका क्षेत्रका रहेका स्वास्थ्य कार्यालय मलङ्गवाका क्षयकुष्ठ अधिकृत बलिराम यादवले जानकारी दिए ।
जिल्लामा फेला परेका कूल क्षयरोगीमध्ये ८९ अर्थात् १४ दशमलव १३ प्रतिशत १४ वर्षमुनिका रहेका अधिकृत यादवले बताए । उनका अनुसार जिल्लामा क्षयरोगीको सङ्ख्या प्रतिलाखमा एक सय ५२ जना छन ।
गाउँ समाजमा क्षयरोगसम्बन्धी चेतनास्तर कम भएका कारण पनि क्षयरोग संक्रमण बढेको उनको भनाइ छ । क्षयरोग नियमित उपचारबाट निको बनाउन सकिने भए पनि अझै धेरै उपचार सेवाबाट टाढा रहने गरेका छन । संक्रमितले गर्ने लापरबाही क्षयरोगी बढ्नुको मुख्य कारण रहेको स्वास्थ्यकर्मीको दाबी छ ।
स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा.नवलकिशोर झाले जिल्लामा क्षयरोगी खोज पड्ताल अभियान बढेका कारण बिरामी धेरै फेला परेको बताए । समाजमा क्षयरोगी लुकेर रहे लक्ष्य पूरा गर्न समस्या हुने भएकाले सबै रोगी फेला पार्नुपर्ने बाग्मती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले जानकारी दिए । यस क्षेत्रमा मुस्लिम, दलितलगायतका समुदायमा क्षयरोगीको संख्या पहिचान गरेको छ ।
यस रोगले ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुपोषित बालबालिका, मधुमेह, क्यान्सरलगायतका बिरामी, इँटाभट्टामा काम गर्ने परिवार तथा बालबालिकालाई उच्च जोखिममा पारेको डा.झाले बताए ।
लामो समय सुक्खा खोकी लागे, रातिराति ज्वरो आए, जिउ दुख्नेलगायतका समस्या भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर खकार जाँच गर्नुपर्ने उनको भनाइ छ । यस्तै क्षयरोगीको संखया बढेको भए पनि जिल्लामा मृत्युदर घट्दै गएको पाइएको छ ।
विगतका वर्षमा जिल्लामा क्षयरोगीको मृत्युदर पाँचदेखि सात प्रतिशतको अनुपातमा रहेको थियो । यस आर्थिक वर्षको साउनदेखि पुससम्मको तथ्यांकले मृत्युदर ओरालो लागेको देखाएको स्वास्थ्य कार्यालय प्रमुख झाले बताए ।
नियमित औषधि उपचारमा सचेतना र पारिवारिक स्याहारसम्भार तथा जनमानसमा फैलिएको सचेतनाका कारण मृत्युदर घड्दो क्रममा रहेको चिकित्सकको भनाइ छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगीको सङ्ख्या शून्यमा झार्ने र मृत्युदर घटाउने लक्ष्य राखेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij