वेबटिभी खबर
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भावी शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित दुर्गा दाहाल ७२औँ जन्मजन्ती समारोहमा मन्त्री चौधरीले बालमैत्री पाठ्यक्रम र योग्य शिक्षकबाट शिक्षामा परिवर्तन ल्याउन सकिने धारणा राखे ।
धनकुटा जिल्ला चौबिसे गाउँपालिका–३ का दुर्गा दाहाल शिक्षक, समाजसेवी र सहकारी अभियानकर्मी थिए । स्मृति कार्यक्रममा उनले समाजमा दिएको योगदानको चर्चा गरिएको थियो ।
यसै सन्दर्भमा मन्त्री चौधरीले दिवंगत श्रीमान् दिनेश चौधरीको स्मरण गरेका थिए । श्रीमानले समाजमा छोटो समयमा गरेका सकारात्मक कार्यको प्रशंसा गर्दै उनको सपना आफूले साकार पार्दै गरेको बताए ।
‘दिनेशजी सारै ऊर्जावान हुनुहुन्थ्यो’, मन्त्री चौधरी सम्झनछन्, ‘उहाँले देखेका सपना पूरा गर्न दिनेश स्मृति प्रतिष्ठानबाट समाज सेवाका काम निरन्तर गरिरहेका छौँ ।’
उनले दिनेश र दाहाल जस्ता थुप्रै सकारात्मक सोच भएका व्यक्तिको स्मृति समाजमा थप असल काम गर्न हौसला प्रदान हुने बताए । दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिले कार्यक्रममा मानवशास्त्री एवं प्रा डा. डम्बर चेम्जोङलाई सम्मान गरेको थियो ।
मन्त्री चौधरीद्वारा उहाँलाई ताम्रपत्र, दोसल्ला र १० हजार नगद हस्तान्तरण गरिएको थियो । चेम्जोङले २०३५ सालदेखि शिक्षा सेवामा लागेको र दुर्गा दाहालको अभिभावकत्वमा काम गर्न पाएको अनुभव सुनाउनुभयो ।
‘त्यतिबेला शिक्षाको स्थिति अत्यन्त नाजुक थियो’, उनले बाल्यकालको शिक्षा स्मरण गर्दै भन्नुभयो, ‘शिक्षा नीति सुधार्ने आधारभूत विद्यालयबाटै हो ।’ डा.डम्बरले दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिलाई सहयोगस्वरुप ५० हजार प्रदान गर्ने वचन दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij