Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाँकेका किसान चैते धान खेतीतर्फ आकर्षित

बाँकेका किसान चैते धान खेतीतर्फ आकर्षित

  • 130
    SHARES
  • बाँकेका किसान चैते धान खेतीतर्फ आकर्षित
    बाँके । बाँकेमा नयाँ किसानले चैते धान खेती गर्न थालेका छन । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धान खेती गर्न लागेका हुन ।
     
    पहिलो पटक चैते धान खेती गरेकी वैजनाथ–६ का किसान गीता खत्रीले चैते धान खेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताइन् । उनले वर्षे धान खेती भन्दा चैते धान खेतीमा बढी मेहनत गर्नुपर्ने र उक्त धानखेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गरिन् ।
     
    करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानखेती गरेकी खत्रीले बीउको ब्याड राख्न नजानेरसमेत समस्या झेल्नुपरेको जानकारी दिइन् । कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षबाट चैते धानखेती सुरु गरेको बताए।
     
    उनले चैते धान खेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते पाँच जातको धान खेती भएको जनाए । अधिकृत  यादवले भने, ‘चैते धानखेतीमा किसानले झन्झट मानेका कारण कतिपय सिँचाइको सुविधा भएको ठाउँमा मकैखेती पनि गरेका छन् ।’
     
    अधिकृत यादवले अहिले चेते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै वर्षे धानलाई जस्तै प्रशस्त पानी नचाहिने बताए । कृषि ज्ञानकेन्द्र ३१ हेक्टर, केही किसानले आफ्नै लगानीमा र केही बीउ कृषि अनुसन्धान केन्द्र नार्क खजुराले दिएको बीउबाट गरी कूल ४० हेक्टर क्षेत्रफल जमिनमा चैते धान खेती गरिएको छ ।
     
    यस वर्ष जिल्लाको वैजनाथ–८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा–३ को सूर्य, लालपुर्जा र बनकट्टि, राप्तिसोनारीको फत्तेपुर तथा खजुरा–२ को के गाउँमा चैते धान खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गाउँपालिकामा निर्माण भएका विभिन्न कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरेको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij