वेबटिभी खबर
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर बग्ने घोप्टेखोलामाथि २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेपछि यात्रा अवधि छोटिएको हो ।
कोटगाउँका रोशन पुनले भीर, जंगल र खोल्साको घुमाउरो र जोखिमयुक्त बाटोमा यात्रा गर्नुपर्ने समस्या हटेको बताए । पुल निर्माण भएपछि पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर र मुलपानीका ५ सयभन्दा बढी घरधुरी लाभान्वित भएका रघुगङ्गा-६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । कमनाथमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी र अमर माविमा आउन जान स्थानीयवासीलाई सहज भएको छ । सबैभन्दा बढी सहज विद्यार्थी र ज्येष्ठ नागरिकलाई भएको छ ।
पुल निर्माणका लागि हिमशिखर/जयलक्ष्मी जेभीले विसं २०७६ फागुन ९ गते दुई करोड ६२ लाख तीन हजार ४ सय ४३ मा ठेक्का सम्झौता गरेको थियो । सिं २०७८ साउन ८ गते पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्माण कम्पनीले लक्ष्यअघिनै पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij