वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनका संघारमा पुगेको छ । सो पर्टीका सात सांसदले आज निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका छन् ।
जसपाका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको जसपाका सांसद सुशीला श्रेष्ठले जानकारी दिए ।
‘अहिले हामी सांसदहरु सातजना छौँ, अरू पनि थुप्रै आउनुहुन्छ । उहाँहरु सम्पर्कमै हुनुहुन्छ’, सांसद श्रेष्ठले भने ।
सांसद श्रेष्ठले आफ्ना मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अहिलेको बाटो तय गरेको दाबी गरे ।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार जसपाका सांसदहरुले निवेदन दर्ता गराएको र सोको अध्ययन भइरहेको छ ।
जसपाको संघीय संसद्मा १२ सांसद हुन् । उनीहरूमध्ये सात सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा हस्ताक्षर गर्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् ।
त्यस्तै केन्द्रीय कार्यकारिणी समितिका नौ र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij