वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२१ खोकनामा भएको चोरी घटनामा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका-४ गौसरा घर भई हाल ललितपुर महानगरपालिका-१५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापामगर, सोही ठाउँका ३५ वर्षीय धनलाल थापामगर, सन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-११ कपन बस्ने २८ वर्षीय सुवास सुनार, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीका ४१ वर्षीय रमेश विक, काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय योगेश डाँगी तथा सप्तरी सुरुङ्गा नगरपालिका-२ बस्ने २२ वर्षीय मोहम्मद समीर रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
गत वैशाख ७ देखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका-२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुन-चाँदीका गरगहना तथा आइफोनलगायतका धनमाल चोरी भएको थियो ।
पक्राउ परेकाहरुलाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रवक्ता रेग्मीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij