रासस
सर्लाही । विशाल क्षेत्रफल ओगटेको, हेर्दे आकर्षक ताल अहिले सुकेर गौचरन बन्यो भन्दा पत्याउनै गाह्रो पर्छ । ५२ बिघामा फैलिएको र १२ फिटसम्म गहिरो सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल वास्तवमै गौचरनमा परिणत भएको छ । सदरमुकाम मलंगवा र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चन्द्रनगर गाउँपालिका–७ स्थित उक्त ताल एक वर्षदेखि गौचरनमा परिणत भएको हो ।
माछापालन गर्न ठेक्का लिएका ठेकेदारले तालको पानी सुकाएपछि घाँस उम्रिएको छ । गत वर्ष ठेक्का सकिएपछि ठेकेदारले माछा निकाल्ने भन्दै तालको पूरै पानी पम्पसेट लगाएर फालिदिएका थिए ।
पानी सुकाएपछि गौचरण बनेको तालमा अहिले स्थानीयले पशुचौपाया चराउने गरेका छन् । ताल परिसरमा रहेका भौतिक संरचनासमेत जीर्ण बन्दै गएका छन् । कुनै समय आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने उक्त तालकाे किनार अहिले फोहर हुनुका साथै छेउकाे सडक पनि घाँसले भरिएकाे छ ।
ठेकेदारले अदालतबाट ‘स्टेअडर’ नै ल्याएर पूरै तालको पानी बाहिर फलिदिएपछि तालको स्वरुप जीर्ण बन्दै गएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताउँछन् । ‘विसं २०७५ मा पालिकाले पाँच वर्षका लागि ६ करोड १९ लाखमा माछापालन गर्न ताल ठेक्का लगाएको थियो,’ उनले भने, ‘ठेकेदारले प्रत्येक वर्ष जाल हानेर माछा निकाल्ने गरेको थियो । ठेक्का सकिने वर्ष अदालतबाट ‘स्टेअडर’ ल्याएर ताल सुक्ने गरी पानी निकालेपछि समस्या सिर्जना भएको हो ।’
तालमा बचेको थोरै पानीसमेत स्थानीय किसानले पम्पसेट लगाएर खेतमा लगेपछि पूर्णरुपमा चरन क्षेत्र बनेको स्थानीयको भनाइ छ । पानी सुकेर गौचरनमा परिणत ऐतिहासिक नाढिमन ताल कुरुप देखिन थालेको अध्यक्ष महतोले बताए । एक वर्षदेखि ताल ठेक्का लगाउन नपाउँदा पालिकालाई आर्थिकरुपमा नोक्सानी भएको उनले गुनासो गरे ।
तालमा पुनःपानी भर्नका लागि पानीको मुहान सरसफाइ गरी नजिकै रहेको अधबारा खोलाको पानी हाल्ने तयारी भइरहेको अध्यक्ष महतोले जानकारी दिए । पानी भरेपछि यसको संरक्षण र प्रवर्द्धनका लागि पालिकाले विशेष रणनीति लिएर अगाडि बढ्ने उनको भनाइ छ ।
५२ बिघा क्षेत्रफलमा फैलिएको उक्त ताल स्थानीयको अतिक्रमणबाट ३२ बिघामा खुम्चिएको थियो । पटकपटक गरी अतिक्रमण हटाएर ३८ बिघामा पुर्याइएको पालिकाले जनाएको छ । तालको ठूलो हिस्सा अझै अतिक्रमणमा रहेका स्थानीय प्रविन महतोले बताए । ताल १२ फिटसम्म गहिरो छ ।
विगतमा यस तालबाट नजिकैका सयौँ हेक्टर क्षेत्रफल खेत सिँचाइ हुने गरेको थियो । विस्तारै तालमा पानी आउने मुहान अतिक्रमणबाट हराउँदै जानु, संरक्षणमा चासो नहुनु तथा लामो खडेरीले ताल सुक्दै जाँदा जीर्ण बनेको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij