Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सिस्टम

सिस्टम

  • 1.7K
    SHARES
  • सिस्टम

    रामदेशको कपाल काट्नुथ्यो । बिहान ९ बजे उठेर वानेश्वरको एउटा सैलुनमा गयो ।
    दुईजना केटा लाइन लागेका थिए । ‘भाइभन्दा अगाडि म काटिहाल्छु ल ?,’ अगाडिको केटालाई रामदेशले भन्यो, ‘१० बजी अफिस पुग्नु छ ।’ ‘नाइँ दाइ काँ हुन्छ मेरो नि काम छ,’ केटाले मानेन । ‘छोड्दिउँ न त भाइ सरलाई अफिस जानु छ भने,’ अर्का केटाले सम्झाएपछि त्यस केटाले मान्यो ।

    images

    भन्सार पास भएको मालबाहक जसरी रामनिवास अघि बढेर कुर्सीमा बस्यो । ‘दाइ लामै राखूँ ?,’  हजामले सर्लक्क एप्रन ओढाउँदै रामदेशलाई सोध्यो । ‘पछाडि तीनमा अगाडि पाँचमा हान न,’ लकडाउनले बढेको दाह्रीतिर इशारा गर्दै रामदेशले भन्यो, ‘दाह्री तीनमा राख्देउ ।’

    ‘दाइ !,’ हजामले आश्चर्य प्रकट गर्दै प्रश्न तेस्र्यायो,‘यो छेउमा मछली पसल छ नि दाइ, पुरा लकडाउन भर तीन ट्रक बेचिहाल्यो । कोरोना त साला हाम्रो पसलमा मात्र सर्छ दाइ ? मछलीमा सर्दैन ?’ ‘देशमा सिस्टम छैन भाइ,’ रामदेशले बुझायो, ‘देशमा सिस्टम भएको भए सरकारले त्यसो गर्दैनथ्यो । सबैलाई बराबर कानुन लगाउथ्यो । झन् खानेकुरा हो माछाबाट सरिहाल्छ नि कोरोना छ भने ।’

    ‘त्यही त दाइ,’ मास्क मिलाउँदै हजामले भन्यो, ‘साला पुलिसहरू नै आउथ्यो दाइ मछली लिन । हामीले बाल काट्न दुकान खोल्दा त साला थर्काइहाथ्यो । यस्तो भन्दा त दाइ, देशमा राजा नै ठिक छ । कि कसो दाइ ?’

    ‘होइन, राजा हुँदा हामीले यसरी बोल्न पाइँदैन नि सेना आएर बुट हान्छ,’ रामदेशले भन्यो, ‘अहिले कमसेकम हामीले यो भएन भनेर बोल्न त पाइएको छ । यो व्यवस्था त ठिक छ, तर नेता राम्रा भएनन् ।’ ‘नेताहरूलाई के छ दाइ, साला भोट माग्ने बेलामा गाउँ आउँछ त अरु पुरा समय काठमान्ठु होइन दाइ ?,’ हजाम बिरक्तियो ।

    ‘हाम्रो देश एकदम राम्रो छ । शासन व्यवस्था पनि राम्रो छ । तर नेता राम्रा भएनन्,’ रामदेशले बेलिविस्तार लगायो, ‘एक दिन कोही राम्रो नेता पाउला नि हाम्रो देशले । राम्रा युवाहरू राजनीतिमा आउलान् । कि कसो भाइ ?’ ‘खोइ दाइ सबै भ्रष्टचारी अई भ्रष्टचारी छ,’ हजामले भन्यो, ‘ल एउटा अधिकृतको तलब ३५ छ, त उसले कसरी परिवार चलाउँछ ? भात खानै परो, बालबच्चा पढाउनै परो । अनि भ्रष्टचार हुन्छ होइन दाइ ?’

    ‘होइन यसको लागि सरकारले बजारमा महङ्गी नियन्त्रण गर्नुपर्छ,’ रामदेशले प्रष्ट्यायो, ‘एकधार्नी आलुको दाम २ सय पचास छ त्यसैले कर्मचारी घुस खान बाध्य छन् । तलबले नै दैनिक आवश्यकता पुरा हुन सके कर्मचारीले घुस खाने थिएनन् ।’

    ‘दश बज्न लाग्यो त दाइ !,’ रामदेशले पालो मिचेको केटाले मोबाइलमा टाइम हेर्दै भन्यो ।
    ‘ए हो र !,’ रामदेश हडबडायो, ‘छिटो काट, भाइ छिटो काट मेरो अफिस टाइम भइसक्यो ।’ ‘ल दाइ भइसक्योे,’ हजामले जनाउ दियो । ‘ला भाइ सलात्सुलुत्तै पो पारेछौ त,’ रामदेश कट्कियो, ‘अगाडि ५ मा दाह्री ३ मा राख्नु भनेको होइन ! पुरै जिरो बनाएछौ त ?’

    ‘दाइ सरी,’ हजामले भन्यो, ‘आज यहीं १० बजीसक्यो, तपाईं अफिस जानुस् अर्को पटक काट्दा धुमधडक गर्दिन्छु दाइ ।’ कपाल र दाह्री काटेको सधैं १ सय ५० तिथ्र्यो रामदेश । आज १ सय ३० तिरेर हतार-हतार सिंहदरबारतिर गयो ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology