वेबटिभी खबर
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । सुन्तला खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले लोकप्रिया कृषि सहकारी र पिपलडाँडा–धुषाडाँडा कृषि समूहमा आवद्ध २० जना किसानलाई कृषि सामग्री हस्तान्तरण गरेका हुन । गाउँपालिकाका कृषि शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार म्यानुअल पम्प ट्यांकी, डिजिटल तराजु, किरेट, पाइप, भर्याङलगायत सामग्री वितरण गरिएको हो ।
उनले सुन्तला खेती प्रवर्द्धन गर्न पालिकाले किसानलाई प्रोत्साहन र आकर्षित गर्ने विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए । उनका अनुसार पालिकाले गत आवमा तीनदिने सुन्तला महोत्सव आयोजना गरेको थियो । किसानलाई सुन्तलाको बेर्ना अनुदानमा वितरण गर्ने योजना रहेको त्रिपाठीले जनाए ।
किसानबाट माग भएअनुसार १० हजार कलमी र १६ हजार बिजु बिरुवा वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ । पछिल्लो समय सुन्तला खेती गर्ने किसान बढ्दै गएकाले बढी उत्पादन हुने स्थानमा नयाँ बगैँचाका लागि सहयोगका कार्यक्रम सञ्चालन गरिने छ ।
पालिकाले वडा नं ३ फिस्लिङमा कृषि भवन निर्माण गरेको अध्यक्ष गुरुङले जानकारी दिए । उक्त भवनमा कृषिजन्य उत्पादनको संकलन, चिस्यान केन्द्र तथा पाहुना घर सञ्चालन गरिने उनको भनाइ छ । गाउँपालिकाले कृषिजन्य उत्पादनलाई बजारीकरण समेत सहयोग गर्ने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij