वेबटिभी खबर
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-३ की मन्दिरा बर्तौलाले दूध बेचेर एक वर्षमा सात लाख कमाइन् । उनले आफूले पालेका तीन उन्नत जातका गाईबाट आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ८९३ लिटर दूध बेचिन् । सोही नगरपालिकाकै वडा नम्बर १ की कल्पना लामिछानेले गाईको दूध बेचेर एक वर्षभित्र दुई लाख २७ हजार आम्दानी गरिन् । उनले पाँच गाई पालेकी छिन् ।
नगरपालिकामा पछिल्ला वर्षमा दूधका लागि पशुपालन फस्टाउँदै गएको छ । स्थानीय कृषक स्वरोजगार हुँदै आम्दानीका लागि कतै भौतारिनु पर्दैन भन्ने उदाहरण बन्न थालेका छन् । नगरपालिकामा घर नजिकै दूध बेचेर वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्नेको सङ्ख्या दुई दर्जनभन्दा बढी छ ।
आर्थिक वर्ष २०७७/०७८ मा थाहा-६ का शिवप्रसाद अधिकारीले तीन हजार ३५१ लिटर, थाहा-२ का सुरेन्द्र बस्नेतले तीन हजार ३६० लिटर, थाहा-३ की राजी केसीले तीन हजार २८१ लिटर, थाहा-२ का राजु ढकालले तीन हजार १९९ लिटर दूध बेचेका छन् । उनीहरुको वार्षिक आम्दानी डेढ लाखभन्दा बढी छ ।
नगरपालिकाका पशु विकास शाखाका निमित्त प्रमुख रुपेशकुमार मिश्रका अनुसार नगरपालिकाभित्र दूधका लागि अहिले ३१५ कृषकले व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् । उनीहरुले व्यावसायिक रुपमा पालेका गाई भैँसीबाट चालू आवको हालसम्म कूल तीन लाख दुई हजार ९१४ लिटर दूध सङ्कलन भएको छ । औसतमा प्रतिलिटर ५५ को दरले हिसाब गर्दा उक्त परिमाणको दूध बिक्रीबाट कृषकले एक करोड ६६ लाख ६० हजार आम्दानी गरेका छन् ।
दूधका लागि धेरैजसो कृषकले उन्नत जातका गाई पालेका छन् । करीब ५० कृषकले भैँसीपालन गरेका छन् । सोका लागि नगरपालिकाले पशुपालन पकेट क्षेत्र घोषणा गरेको छ । पशुपालन पकेट क्षेत्रअन्तर्गत यस नगरपालिकामा सबैभन्दा धेरै पशुपालक कृषक वडा नं ६ बज्रबाराहीमा छन् । बज्रबाराहीमा बज्रबाराही पशुपालन कृषक समूह नै बनाएर पशुपालन व्यवसाय प्रवद्र्धनको काम भइरहेको पशुविकास शाखाका निमित्त प्रमुख मिश्रले जानकारी दिए । सो समूहमा आबद्ध १०० कृषकबाट मात्र एक वर्षमा ५७ हजार लिटर दूध बिक्री भएको बताइएको छ ।
घर्तीखोला, फाँटबजार, थानाबजार, ओखरबजार, बज्रबाराही र जगडाँडा क्षेत्रलाई पशुपालन पकेट क्षेत्र घोषणा गरी दूध सङ्कलनका लागि पकेट क्षेत्रमै सङ्कलन केन्द्रको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । उत्पादन क्षेत्रमै सङ्कलन केन्द्र स्थापना गरिएपछि कृषकलाई बजारीकरणको कुनै समस्या नभएको बज्रबाराहीस्थित नन्दीकेश्वर डेरीका सञ्चालक प्रमोद जोशीले बताए ।
आफूहरुले सङ्कलन केन्द्रमा बिक्री गरेको दूधको परिमाणका आधारमा सङ्कलन केन्द्रबाट प्राप्त आम्दानीका अतिरिक्त नगरपालिकाले प्रतिलिटर रु डेढका दरले थपेर दिएपछि पशुपालक कृषक झनै उत्साहित भएका छन् । कृषकलाई प्रोत्साहनस्वरुप थप रकम उपलब्ध गराउन नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट सङ्कलन केन्द्रमार्फत आर्थिक वर्षको अन्त्यमा एकमुष्ठरुपमा रकम उपलब्ध गराइएको निमित्त प्रमुख मिश्रले बताए ।
नन्दीकेश्वर डेरीबाट ८४ कृषकलाई र पालुङ डेरीअन्तर्गत फाँटबजार–अङ्गारेका ५८ कृषकलाई, ओखरबजारका १२ कृषकलाई, थानाबजारका ११ कृषकलाई, जगडाँडाका २१ कृषकलाई र घर्तीखोलाका २९ कृषकलाई प्रतिलिटर रु डेढका दरले अतिरिक्त रकम उपलब्ध गराइएको छ । त्यसैगरी बज्रबाराही पशुपालन कृषक समूहका १०० पशुपालकले अतिरिक्त रकम पाएका छन् । घर्तीखोलाकी मन्दिरा बर्तौलाले मात्र दूध बिक्री गर्दा स्थानीय सरकारबाट १९ हजार ३४० अतिरिक्त रकम पाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij