वेबटिभी खबर
काठमाडाैं । अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फर्केपछि त्यहाँ भागदौड मच्चिएको छ । २० वर्ष अगाडि सत्ताबाट हटाइएका तालिबानले एक पछि अर्को गर्दै देशका महत्वपूर्ण भागमा नियन्त्रण गर्न सुरु गरे । लडाईको डरका कारण अफगान सैनिक छिमेकी देशमा शरण लिन पुगेका छन् । धेरै मानिसहरु देशमा गृहयुद्ध सुरु हुने संकेतपछि विदेश हिँडेका छन् ।
तालिबान देशमा कट्टर इस्लामिक कानुन लागू गराउन चाहन्छ । यस्तो अवस्थामा सीमावर्ती इलाकामा शरणार्थीहरु भेला हुन थालेका छन् । अफगानिस्तानलाई जति खतरा गृहयुद्धबाट छ, त्यति नै जलवायु परिवर्तनबाट पनि । लामो समयदेखि युद्धले गाँजेको अफगानिस्तानमा प्राकृतिक विपत्ति नजरअन्दाज गरिएका छन् ।
बाढी, भूक्षय, सुख्खापन, पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोप त्यहाँको सबैभन्दा ठूलो खतरा बनेको छ । आगामी ३० वर्षमा जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका मुलुकमध्ये अफगानिस्तान ७ नम्बरमा छ । सन् १९८० देखि २०१७ सम्म प्राकृतिक विपद्का कारण ९० लाख मानिस अफगानिस्तानबाट विस्थापित भएका छन् भने २० हजारको मृत्यु भएको छ । इन्टरनल डिस्प्लेसमेन्ट मनिटरिङ सेन्टर आइडिएमसीका अनुसार सन् २०२० को अन्त्यसम्ममा ११ लाख ९८ हजार विस्थापित मानिस थिए ।
पछिल्लो २० वर्षमा ६५ लाख मानिस बाढी र ५० लाख भूक्षय सम्भावित क्षेत्रमा बसोबास गरिरहेका छन् । जलवायु परिवर्तनको संकटले देशमा खाद्य असुरक्षा, बेरोजगारी र पलायन पनि बढाउने निश्चित छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार करिब ४० लाख मानि अझै शरणार्थी शिविरमा छन् । जसमध्ये अधिकतम महिला र बालबालिका हुन् । त्यस्ता शिविरमा शौचालय, स्वास्थ्य उपचारजस्ता आधारभूत सुविधा पनि छैन ।
युद्धबाट प्रभावित त्यस क्षेत्रमा पत्रकार, नीति निर्माता र सामाजिक कार्यकर्ताको प्राथमिकतामा जलवायु परिवर्तन पर्न सकेन । त्यहाँको एक पुस्ता युद्धकै समयमा जन्मिएर, त्यही समयमा हुर्किएको छ । उनीहरुको संघर्ष युद्धका विरुद्धमा मात्र जारी छ । यसले गर्दा जलवायु परिवर्तनविरुद्ध कसैले ध्यान दिएको छैन ।
अफगानिस्तानबाट जर्मन सेनाले २२ हजार लिटर बियर फिर्ता लैजाने
अफगानिस्तानमा गृह युद्धको खतरा बढ्यो
बघराम हवाई मैदान: अमेरिकी सेना फोहोरको थुप्रो छोडेर स्वेदश फर्के
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij