Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आइसिसी टि-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले बंगलादेशलाई हरायो

आइसिसी टि-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले बंगलादेशलाई हरायो

  • 151
    SHARES
  • आइसिसी टि-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले बंगलादेशलाई हरायो

    काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ ।

    अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि चार रनको जित हासिल गरेको हो । दक्षिण अफ्रिकाले दिएको एक सय १४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय नौ रनमा समेटियो ।

    बंगलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३७ रन बनाएका हुन् । त्यस्तै महमुदउल्लाहले २७ बलमा दुई चौका प्रहार गरी २० रन जोडे । कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा एक छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले तीन विकेट लिए भने कागीसो रबाडा र एनरिक नोर्ट्जेले समान दुई-दुई विकेट लिए ।
      
    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १३ रनको योगफल बनाएको थियो ।

    दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । त्यसैगरी डेविड मिलरले ३८ बलमा २९ रन बनाए । ओपनर क्विन्टन डिककले ११ बलमा १८ रन जोडे । बङ्गलादेशका लागि तान्जिम सकिबले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै रिशाद होस्सेनले एक विकेट लिए ।
     
    यस जितसँगै समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले तीन खेलमा छ अङ्क बटुलेको छ । पराजित बंगलादेशको दुई खेलमा दुई अंक नै छ । सोही समूहमा रहेको नेदरल्यान्ड्सको पनि समान दुई खेलमा दुई अंक नै छ ।

    नेपाल र श्रीलंका अङ्कविहीन छन् । दुवै टोलीले समान एक-एक खेल खेलेका छन् । नेपाल र श्रीलंकाबीचको खेल भोलि हुनेछ ।

  • सम्बन्धित विषय:

  • # बंगलादेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij