वेबटिभी खबर
हेटौँडा । उर्जा, सिँचाई तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताएका छन ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उनले राजनीतिक परिवतनपछि उर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताएका हुन ।
मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताए । विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयश्रोत वृद्धि गरिने उनको भनाइ थियो । तीनवटै तहका सरकार, नीजि क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिए ।
समारोहमा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत हेटौँडाको रातमाटेदेखि राप्ती नदीसम्म ‘बाइपास सडक’ निर्माण गरिने बताए । राजनीतिक परिवर्तन भइसकेको सन्दर्भमा अब सबैको ध्यान मुलुकको विकास र समृद्धितर्फ जानुपर्नेमा जोड दिँदै उनले यसका लागि दलीय आस्थाभन्दा माथि उठ्न सबैसँग अनुरोध गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij