वेबटिभी खबर
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बंगलादेशको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।
अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर बंगलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ ।
समूह डि बाट दक्षिण अफ्रिका आठ अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।
अब समूह डि बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्न बाँकी छ । नेपाललाई पराजित गरेमा बंगलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ । अंक तालिकामा बंगलादेशको चार अंक छ ।
विश्वकपमा एक अंक बटुलेको श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिसकेको छ । नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ । नेदरल्यान्ड्स दुई अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र श्रीलंकाबीचको खेल पनि भोलि नै हुनेछ ।
भोलिको खेलमा नेपाललाई बंगलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ । नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बंगलादेशसँग पराजित हँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक एक अंक बाँडेका थिए ।
त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थिथो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij