Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पुराना ढुंगेधारा लोप हुने चरणमा

पुराना ढुंगेधारा लोप हुने चरणमा

  • 108
    SHARES
  • पुराना ढुंगेधारा लोप हुने चरणमा

    काठमाडौं । सूर्यविनायक नगरपालिका–२ बालकोटका पुराना ढुंगेधारा बिस्तारै लोप हुने चरणमा पुगेका छन 

    २०७२ सम्म दुई ढुंगेधारा रहेको धारापाटीमा अहिले धाराको ठाउँमा पाइपको टुक्रा मात्र राखिएको छ । २०४९ मा धारा सुकेपछि जमिनमुनि खनेर पानी निकालेर चलाइएको थियो ।बिस्तारै बोरिङको पानी पनि सुक्न थालेपछि पछिल्लो दुई वर्षदेखि ढुंगेधारामा पानी आउँदैन ।

    पानी सुक्नुको मुख्य कारण धाराको पानीको मुहानमाथि सडक कालोपत्र गरिरहेको पाइएको छ । परम्परागत रुपमा ढुंगेधारामा आउने पानीलाई नागदेवताको आशीर्वाद मानिन्छ तर अहिले ढुंगेधारा पाइपको सानो टुक्रा र फोहरले ढाकिएको स्थितिमा सीमित हुन पुगेको छ । सहरिया जीवनशैलीका कारण ढुंगेधाराको सुरक्षा र संरक्षणका लागि यहाँका स्थानीय बासिन्दाले पनि पछिल्लो समय ध्यान दिन छाडेका छन ।

    धारामा पानी नआउने हो भने धाराको महत्व घट्दै गएर अहिले फोहरको थुप्रोले धारा पुरिन थालेका छन् । सूर्यविनायक–२ स्थित स्थानीय गुप्तेश्वर संरक्षण समितिले खानेपानीको सहज उपलब्धताका लागि सम्बन्धित निकायमा आग्रह गरेपछि हप्ताको एक दिन घरको धारामा खानेपानी आउने गरेको छ ।

    सांस्कृतिक र धार्मिकरुपमा पनि महत्व बोकेको ढुंगेधारा अहिले उपलब्ध नहँुदा यहाँका बासिन्दा चिन्तित देखिन्छन् । ‘सडक कालोपत्र हुँदै गए, ढलान भए र पानीको मुहान नै सुकेपछि ढुंगेधारा पनि सुक्दै गए’, स्थानीय गुप्तेश्वर संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठले भने, ‘यहाँका दुई ढुंगेधारा एकदमै कलात्मक थिए, विभिन्न देवीदेवताका मूर्ति पनि यहाँ रहेका थिए तर बिस्तारै मूर्ति हराउँदै गए र अहिले ढुंगेधारा सुक्दै गएका छन् ।’

    ढल खन्दै जाने क्रममा मुहान भेटिएको र त्यसैलाई सुरक्षित साथ राखेर ढुंगेधाराको निर्माण गरिएको थियो । उनका अनुसार दुई–तीन सय वर्ष अगाडिदेखि चलनमा आएको ढुंगेधारा बोरिङको पानीका भरमा सधैँ चल्न सकेनन् । ‘विसं २०७९ मा फेरि बिस्तारै धारा सुक्दै गए, वर्षाको बेलामा मात्र पानी आउन थाल्यो, ढुंगेधाराको संरक्षणका लागि वडा कार्यालयले आर्थिक सहयोग गर्ने गरेको छ’,  श्रेष्ठले भने ।

    २०७९ मा पानी सुक्दा वडाको आर्थिक सहयोगमा सात आठ ठाउँमा बोरिङ गर्दा पनि पानीको स्रोत पत्ता नलागेको संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताए । वडा नं २ का वडाध्यक्ष प्रदीप कार्कीले ढुंगेधारामा पानीको मुहान सुकेको विषयमा आफूहरु जानकार रहेको तर सडक निर्माण भइसकेकाले आफूहरुले मात्रै पहल गरेर मुहान पत्ता लगाउन नसकिने बताए ।

    उनका अनुसार बालकोटका ढुंगेधारा दुई–तीन सय वर्ष पुराना हुन । ‘त्यसबेला पानी भए पनि चलनमा थिएन, एकपटक छिमेकी चीनका पर्यटक आएर त्यहाँको पानी खाएर स्वाद मीठो भएपछि बालकोट निवासी सबैले त्यहाँको धाराको पानी प्रयोग गर्न थालेका हुन्’, वडाध्यक्ष कार्कीले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij