Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राजस्व संकलनमा सामान्य वृद्धि

राजस्व संकलनमा सामान्य वृद्धि

  • 79
    SHARES
  • राजस्व संकलनमा सामान्य वृद्धि

    काठमाडौं । आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा ४१ अर्ब १९ करोड राजस्व संकलन भएको छ ।

    आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा रु ३७ अर्ब संकलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो । चालु आवको जेठ मसान्तसम्म चार खर्ब ४८ अर्ब राजस्व संकलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो ।

    गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली चार खर्ब आठ अर्ब थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म ४० अर्बले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

    आयकर (भाडा र ब्याजसमेत) बाट दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट ९५ अर्ब संकलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट रु आठ अर्ब राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम असुली भएको छ ।

    गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन । राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले  एक खर्ब ७५ अर्ब संकलन गरेको छ ।

    ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य दुई खर्ब ३८ अर्ब थियो । वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर संकलन गर्दै आएको छ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या पाँच सय ४५ छन ।

    कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व संकलनमा कमी आए पनि चालु आवको उत्तराद्र्धमा अर्थतन्त्रमा भएको सुधारले  राजस्व संकलनमा वृद्धि भएको महानिर्देशक तिवारीले बताए ।

    अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij