Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

रोल्पा परेवा छहरा जीप दुर्घटना : सातको निधन, आठजना घाइते

रोल्पा परेवा छहरा जीप दुर्घटना : सातको निधन, आठजना घाइते

  • 139
    SHARES
  • रोल्पा परेवा छहरा जीप दुर्घटना : सातको निधन, आठजना घाइते

    लुम्बिनी । रोल्पामा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जीप घर्तीगाउँ-तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना  भएको थियो ।

    दुर्घटनामा आठजना घाइते भएका थिए  । जीप सडकबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ । घाइते मध्ये छजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    सो कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मृत्यु हुनेमध्ये छजनाको पहिचान भएको  छ भने एकजना बालिकाको पहिचान भएको  छैन ।

    दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीया जुनमाया खड्का,  परिवर्तन गाउँपालिका-२ का ३१ वर्षीया रामकली पुन, माडी-३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

    पहिचान खुल्न नसकेकी बालिका दुर्घटनामा ज्यान गुमाउने अमृताकी छोरी हुन् कि भन्ने आशंका गरिएको  प्रहरी निरीक्षक शाहीले बताए ।

    घाइते आठजनामध्ये दुईजना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । गम्भीर अवस्थाका छजनालाई भने थप उपचारका लागि गएराति नै बुटवल ल्याइएको छ ।

    सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जीप दुर्घटनामा परेको जनाइएको छ । चालकले पहिरो छलेर केही अग्लो ठाउँबाट गाडीलाई पार गराउन खोज्दा जीप पछाडि सर्दै सडकबाट तल खसेको  हुनसक्ने आशंका गरिएको छ ।

    बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्रु सवार जीप दुर्घटनामा परेको थियो ।

    जीपमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा जीपका चालक दीपक थापामगर पनि घाइते भएका प्रहरीले जनाएको छ ।

    तालाबाङ गाउँ शोक परेको छ । जीप दुर्घटनामा अधिकांश तालाबाङवासी परेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij