वासिङ्टन । नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा किएभलाई गठबन्धनमा अन्तिम सदस्यताका लागि वाचा गर्दै सहयोगी राष्ट्रहरूले बुधबार युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा गरेका छन् ।
अमेरिकाको राजधानीमा आयोजित तीन दिने सम्मेलनमा राष्ट्रपति जो बाइडेनले भनेका छन् ‘हामी नाटो क्षेत्रको हरेक इन्चको रक्षा गर्न सक्छौँ र गर्नेछौँ ।’
उनले गत वर्ष किएभलाई दिएको प्रतिज्ञा पूरा गर्दै डेनमार्क र नेदरल्यान्ड्सले अमेरिकी निर्मित एफ–१६ लडाकू जेटहरू युक्रेनमा पठाउन थालेको घोषणा गरेका छन् । यसअघि उनले युक्रेनका लागि नयाँ हवाई रक्षा प्रणाली सहायता प्रदान गर्ने घोषणा गरेका थिए ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने, ‘एफ–१६ हस्तान्तरणले राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनलाई हराउने सोचको अन्त्य गर्नेछ ।’
शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्दा दर्जनौँको ज्यान गएको थियो । आक्रमणमा किएभस्थित बाल अस्पताल भग्नावशेषमा परिणत भएको थियो । बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई शिखर सम्मेलनमा आमन्त्रित गरेका थियो । सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले एफ–१६ सहायताका लागि कृतज्ञता व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij