वेबटिभी खबर
काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।
पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले राससलाई जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद छन् ।
जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गने समेत निर्णय पनि गरेको छ ।
‘प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको मत दिदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ’, प्रवक्ता यादवले भने ।
उनले कांग्रेस र एमालेबीचको नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने संघीय सरकारको नेतृत्वलाई स्वीकार्ने निर्णय भएको बताए ।
राप्रपा र जसपाले पनि विश्वासको मत नदिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
सो पार्टीको आज भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले माग्नु भएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री दाहालले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
सो पार्टीको आजको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री दाहालबाट संविधानका धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij