वेबटिभी खबर
काठमाडौं । भर्खरै देशमा दुई ठूला दलको सरकार बनेको छ । नयाँ सरकार गठन भएको चौथो दिन बिहीबार मन्त्रीहरूका कार्यकक्षमा भीड कम भएको छैन् । कामका लागि भन्दा पनि खादा, माला र पुष्पगुच्छा लिएर बधाई दिन आउने शुभेच्छुकहरूकाे भीड मन्त्रालयमा देखिन्छ ।
बधाई दिने आउनेको भीडकै बीच मन्त्रीहरू आफ्ना मातहतका कर्मचारीहरूसँग छलफलमा छन् । तर काम गर्न सुरु गरेका छैनन् । उनीहरूलाई अझै केही दिन मन्त्रालयका दैनिक कामकारवाही र आयोजनाहरू बारे बुझ्नै समय लाग्नेछ ।
नयाँ सरकारका मुख्य दल कांग्रेस–एमालेका कार्यकर्ता एवम् नेताहरू आफ्नो पार्टीबाट नियुक्त भएका मन्त्रीहरूलाई बधाई दिनका लागि सिंहदरबार पुगिरहेका छन् । सहजै पुग्न सकिने सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयमा सबैभन्दा बढी भीड देखिन्छ ।
कार्यकक्षमा शुभेच्छुकहरूकाे चाप बढेपछि मन्त्रीले भेट्ने समय निर्धारण गर्न थालेका छन् । पद बहाली गरेको भोलिपल्टदेखि नै प्रधानमन्त्रीदेखि मन्त्रीहरू सम्मको कार्यदिन सुरु भएको मानिन्छ । तर अवस्था त्यस्तो छैन ।
‘तुलनात्मक रुपमा कांग्रेस–एमालेका कार्यकर्ताको संख्या धेरै रहेकाले पनि भीड बढेको हुनसक्छ । तर मन्त्रीहरूले भेटघाटको समय निर्धारण गर्न थाल्नुभएको रहेछ । तर अब मन्त्रीहरूले आफ्नो काम सुरु गर्नुपर्छ । बधाई मात्र होइन, उत्कृष्ट काम गरेर पछि धन्यवादको माला लगाए राम्रो हुन्छ,’ शहरी विकास मन्त्रालयमा भेटिएका टंक पुरीले भने ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बुधबार मन्त्रालयका सचिव सहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रिफिङसहित भेटघाटको आयोजना गरेका थिए ।
पौडेलले समस्या देखाउने भन्दा पनि समाधानका लागि काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजना सहितको खाका तयार गर्न निर्देशन दिएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भने आम नागरिकको हक हितका लागि काम गर्ने प्रतिवद्धतासहित कर्मचारीहरूसँग छलफलमै रहेको भेटिए । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि बुधबार विज्ञापन बोर्ड साथै मातहतका कर्मचारीहरूसँग छलफलको आयोजना गरेका थिए ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको ज्ञापन पत्र बुझे र निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरि सरकारले नीतिहरू अवलम्बन गर्ने बचन दिए ।
चाँडो चाँडो परिवर्तन भइरहने मन्त्रीहरूका कारण कर्मचारीहरूको मनोबल बढेको देखिँदैन भने मन्त्रीहरूलाई आफ्ना स्वार्थ पुरा गर्ने व्यक्तिहरूको भीडका कारण कामहरू प्रभावकारी हुन नसकेको गुनासो सुन्ने गरिन्छ । तर सिंहदरबारमा पहुँच नभएका सर्वसाधारणहरूका पक्षमा काम गर्न मन्त्रीहरूलाई दबाब बढेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij