वेबटिभी खबर
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढंगले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताएका छन ।
जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उनले जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर विभागले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन । जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यवहारिक रुपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,’ मन्त्री खड्काले भने ।
उनले विकास निर्माणसँगसँगै जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाईसमेत ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रुपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने उल्लेख गरे । विकास निर्माणको कामलाई असर नपर्ने गरी विभागले खोज र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
मन्त्री खड्काले कर्मचारीको मूल्यांकन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्मचारीलाई निर्भीक भएर काम गर्न निर्देशन दिए । उनले विभागका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसमसम्बन्धी हालसम्म कुनैपनि नीति नबनेको जनाए । उनले जल तथा मौसम विज्ञान विभागको कार्य प्रकृति विशुद्ध प्राविधिक भएकाले रिक्त दरबन्दी पूर्ति गर्न प्रयास गर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij