वेबटिभी खबर
डोल्पा । नदीनाला र मुलको प्रमुख स्रोत भएको जिल्लामै पिउने पानीको अभाव हुन थालेको छ । हिउँदमा बाढी, पहिरो र बर्खामा मुहान सुकेर हिमाली क्षेत्रमै पिउने पानीको अभाव हुन थालेको हो ।
यतिबेला हिमाली जिल्ला डोल्पा सदरमुकाम दुनैमा पिउने पानीको चरम समस्या भएको छ । वर्षायाम सुरु भएसँगै ठूलीभेरी नगरपालिका–३ मा पर्ने दुनैमा पिउने पानीको समस्या भएको हो । यद्यपी यहाँको यो समस्या मौसमी भने होइन ।
प्रत्येक वर्ष दुनै बजारवासीले पिउने पानीको समस्या भोग्दै आएका छन् । हिउँद र बर्खा दुवै समय बजारवासीलाई पिउने पानीकै पिरलो हुने गर्दछ ।
प्रत्येक महिनामा कहिलेकाहीँ त एक हप्तासम्म पनि धारामा पानी नआउने गरेको दुनैवासीको गुनासो छ । बर्खाको समयमा बाढी र पहिराले कहिलेकाहीँ हप्ता दिनसम्म पनि धारामा पानी नआउने गरेको होटेल व्यवसायी वीरमलकुमार भण्डारीले बताए ।
‘दुनैमा दिनप्रतिदिन सर्वसाधारणको चाप बडिरहेको छ, वर्षौँदेखि कायमै रहेको पिउने पानीको समस्यामा सुधार हुन सकेको छैन’, भण्डारीले भने ।
बर्सेनि पानीको मुहान मर्मतका नाममा दुनै खानेपानी उपभोक्ता समितिमा लाखौँ रकम आउँछ, स्थानीयदेखि संघीय जनप्रतिनिधिको नारा पनि दुनैमा पानीको समस्या समाधान गर्ने हुन्छ तर जीतसँगै सबै वाचा बिलाएर जान्छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij