वेबटिभी खबर
बाँके । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले समय अनुकूल पर्यटन नीति र कानुन बनाउने बताएका छन ।
होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज बाँकेको नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरिएको र त्यसको गहिरो अध्ययन गरेर तीन महिनाभित्र नीति बनाउने उल्लेख गरे ।
‘अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको छ’, मन्त्री पाण्डेले भने, ‘पर्यटन ऐन पनि समयसापेक्ष निर्माण गरी यथाशिघ्र कानुन बनाउनेतर्फ लागिपरेका छौँ ।’ मन्त्री पाण्डेले लुम्बिनी पर्यटनको क्षेत्रमा विशेष सम्भावना बोकेको प्रदेश भएकाले यहाँको पर्यटन तथा होटल व्यवसायको विकासका लागि सरकारको विशेष चासो रहने बताए ।
‘हामी राजनीति गर्नेले राजनीतिक धर्म निर्वाह गछौंँ, होटल तथा पर्यटन व्यवसायीले पनि आफ्नो पवित्र पेशामा धर्म र निष्ठा निर्वाह गर्नुहोस्’, मन्त्री पाण्डेले भने, ‘अतिथिको सत्कार गर्दै हाम्रो संस्कृतिको विशिष्टतालाई उजागारसँगै संस्कृति र प्रकृतिको बजारिकरण गर्नसके होटल तथा पर्यटन क्षेत्र फस्टाउने छ ।’
नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौँ पर्यटक भित्र्याउने अवसर रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी दिनमा सोहीअनुसार सरकारले काम गर्ने जनाए । राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य भएको उनको भनाइ थियो ।
होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले लुम्बिनी प्रदेशमा करिब ११ हजार होटल व्यवसायीले दुई खर्बको लगानी गरी वार्षिक करिव ४० करोड राज्यलाई कर तीर्दै आएका बताए । लुम्बिनी प्रदेशका १२ जिल्लाका दुई सय प्रतिनिधि सहभागि रहेको सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासंघका महासचिव दधिराम भण्डारीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij