Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पूर्वराज्यमन्त्री रायको हत्या भान्सेले गरेकाे प्रहरी अनुसन्धानकाे निष्कर्ष

पूर्वराज्यमन्त्री रायको हत्या भान्सेले गरेकाे प्रहरी अनुसन्धानकाे निष्कर्ष

  • 674
    SHARES
  • पूर्वराज्यमन्त्री रायको हत्या भान्सेले गरेकाे  प्रहरी अनुसन्धानकाे निष्कर्ष

    सर्लाही । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै भान्सेबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विगत १० वर्षदेखि पूर्वराज्यमन्त्री रायको सहयोगीको रुपमा काम गर्दै आएका २५ वर्षीय राम उजैन रायले नै हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए ।

    सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन राखेर प्रहरीले अनुसन्धानमा हालसम्म भएका प्रगति सार्वजनिक गरेको छ ।

    प्रहरीले चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी ४६ वर्षीय वीरेन्द्र रायलाई पनि नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडि बढाएको छ ।

    दुवैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सोमबार नै १० दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

    प्रहरीका अनुसार पक्राउ परेका वीरेन्द्र पूर्व राज्यमन्त्री रायको जग्गाका सँधियार हुन् । पूर्व राज्यमन्त्री रायले आफ्नो जमिन मिचेर घर बनाएको तथा अन्य थप जग्गाहरू पनि मिचेको भन्ने आधारमा हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको छ । एक महिनाअघि राम उजैनसँग मृतक रायको जमिनको नक्सा मगाएर वीरेन्द्रले फोटो भिडिओ समेत खिचेको प्रहरीले पत्ता लगाएको छ ।

    प्रहरीका अनुसार वीरेन्द्रले घटना हुनु केही दिनअघि मात्र पूर्व राज्यमन्त्रीको हत्या गरे नगद दुई लाख रुपैयाँ दिने र व्यवसाय गर्न फर्म समेत बनाइदिने आश्वासन दिएर फकाएपछि आफूले हत्या गरेको राम उजैनले बयानमा बताएका छन् ।

    पूर्व राज्यमन्त्रीका अगाडि बोल्न नसक्ने भएकाले उनको हत्या गरेपछि छोराहरू बाहिरै बस्ने भएकाले कोही आफन्त नआउने अनुमान गर्दै मिचिएको भनिएको जग्गाजमिन निकाल्न सकिने आशा सहित हत्या योजना बनेको अभियुक्तद्वयले दिएको बयानबाट खुलेको छ ।

    वीरेन्द्रले उक्साहट र प्रलोभन दिएपछि हत्या भने राम उजैन एक्लैले गरेको अनुसन्धानबाट खुलेको छ। पूर्व राज्यमन्त्री राय निदाएको मौका छोपेर गत साउन ७ गते मध्यरातमा राम उजैनले धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    हत्यापछि राम उजैनले नै राति प्रहरी तथा गाउँलेहरूलाई खबर गरेर घटनाबारे जानकारी दिएका थिए । यसअघि राम उजैनले प्रहरीलाई घटना भएको राति ९ बजेतिर अन्य तीन जना नचिनेका मान्छे आएपछि आफू सुत्न एक तले घरको छतमा गएको र मध्यरातमा उठेर हेर्दा पूर्व राज्यमन्त्री रायको हत्या भएर मृत अवस्थामा देखेको बताएका थिए ।

    साउन ८ गते बिहान धनुषाको ढल्केबरबाट ल्याइएको कुकुरले घटनास्थलभन्दा २५ मिटर पर बाँसको झ्याङबाट रगत तथा कपाल लागेको अवस्थामा फलामको धारिलो हतियार फेला पारेको थियो ।

    घटना लगतै राम उजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउँदा निरन्तर बयानमा कुराहरु बाझेपछि पोलिग्राफ मेशिनबाट उनीसहित अन्य केही व्यक्तिहरुको बयानसमेत परीक्षण गराइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

    घटनाको तेस्रो दिनपछि मात्र पूर्व राज्यमन्त्री रायको हत्या गर्दा राम उजैनले लगाएको सेतो गञ्जी च्यातेर तीन वटा पोको पारेर बारी छेउको बाटोतर्फ फालिएको अवस्थामा प्रहरीले बरामद् गरेको थियो । त्यसपछि भने प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या राम उजैनले नै गरेको एकीन सहित थप अनुसन्धान अगाडी बढाएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij