वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका १४४ अस्पतालहरुमा उपचाररत झाडापाखलाका बिरामीहरुमा नियमित रुपमा हैजाको निगरानी गरिरहेको जनाएको छ ।
मंगलबार मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको काम र योजना सार्वजनिक गर्दै हैजा प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको जनाएको हो ।
मन्त्रालयका अनुसार, जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धी कार्य प्रभावकारी रूपमा भइरहेको छ । एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जना भन्दा बढि झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्ब र १११५मा सम्पर्क गरी जानकारी गराउन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयले केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य योजना बनाएको समेत जनाएको छ।
प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागि आवश्यकता अनुसार विज्ञ परिचालन गर्ने, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवाला निकायहरु विच एकिकृत समन्वय तथा सहकार्य गर्ने तथा राष्ट्रिय हैजा नियन्त्रण/रोकथाम योजना २०२४/२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने मन्त्रालयको योजना छ ।
हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेका काम र आगामी योजना
स्वास्थ्य मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाउँदै आएको छ । मन्त्रालयले प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँग सहकार्य र समन्वयमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ ।
प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी, र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको छ। यससँगै, स्वास्थ्य शिक्षाका सामाग्रीहरू तयार पारेर प्रसारण गरिरहेको छ । हैजाको निगरानीका सन्दर्भमा, देशभरका १४४ अस्पतालहरूमा झाडापखालाका बिरामीहरूको नियमित रूपमा हैजाको निगरानी भइरहेको छ ।
जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धी कार्य प्रभावकारी रूपमा भइरहेको छ । साथै, एउटै टोलबाट एक हप्ताभित्रमा ५ जना भन्दा बढि झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्ब र १११५मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था गरेको छ ।
जनचेतना र सरसफाइ सम्बन्धी क्रियाकलापमा, बिरामी देखिएका स्थानहरूमा खानेपानीको नमुना जाँच कार्य गरिरहेको छ । साथै, खानेपानीको शुद्धिकरण तथा व्यक्तिगत सरसफाइ सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जानकारी दिएको छ । रेडक्रस, वाटरएड र अन्य साझेदारहरूको समन्वयमा पानी शुद्धिकरण र जनचेतनाका कार्यहरू निरन्तर गरिरहेको छ ।
सचेतना गतिविधिहरूलाई थप प्रभावकारी बनाउन मन्त्रालयले फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू मार्फत हैजासँग सम्बन्धित सन्देशहरूको नियमित प्रसारण गरिरहेको छ । काठमाडौँ महानगरपालिका, वडा नम्बर ११, १२, र १३ का निर्वाचित सदस्यहरू, समुदायको विपद् व्यवस्थापन समिति, तथा युवाहरू र महिला समूहहरूलाई हैजा रोकथाम र नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया गतिविधिहरूमा, क्लस्टरको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउने कार्य गर्न मन्त्रालयले निर्देशन दिएको छ । साथै, विज्ञ सम्मिलित छलफल बैठक सञ्चालन गरी केस र खानेपानी निगरानी, केस व्यवस्थापन, र रोकथाम तथा नियन्त्रणका क्रियाकलापहरूलाई थप प्रभावकारी बनाउन थप निर्देशन दिएको छ ।
गोदावरी नगरपालिकामा, पुनर्स्थापना केन्द्रका सदस्यहरूका लागि ब्लीचिङ पाउडर र परीक्षण विधिहरू प्रयोग गरेर १५ क्लोरिन समाधानको तयारीको प्रदर्शन गरेको छ । यसैगरी, आवश्यक घरपरिवारहरूमा पियुष प्लस पनि प्रदान गरेको छ ।
ललितपुर महानगरपालिकामा, हैजाका केसहरू पत्ता लागेपछि समुदायका सदस्यहरूलाई हात सफाई र पानीको गुणस्तर परीक्षणको सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ । टेकु, काठमाडौँ महानगरपालिकामा पनि क्लोरिनेसन र सफाई अभ्यासहरूको बारेमा आवश्यक जानकारी प्रदान गरेको छ ।
मन्त्रालयले आगामी योजनामा केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायहरू सँगको समन्वयमा जोखिम पहिचान तथा रोकथाम सम्बन्धी कार्यहरू अघि बढाउने योजना बनाएको छ । यससँगै, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवाला निकायहरू बीच एकीकृत समन्वय तथा सहकार्य गरिरहेको छ । राष्ट्रिय हैजा नियन्त्रणर रोकथाम योजना २०२४/२०३० पनि बनाई आवश्यक कार्यहरू गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij