वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मन्त्रिपरिषद् विस्तारमा हतार नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवालाई हतारमा मन्त्रीहरू नछान्न र सबै मन्त्रालयले कांग्रेसले मात्र नराख्न सिटौलाले सुझाव दिएका छन् । अहिलेको गठबन्धनलाई बचाउन र त्यहीअनुसार गठबन्धन र पार्टीमा सन्तुलन कायम गर्न सिटौलाको सुझाव छ ।
‘मन्त्रालयको बाँडफाँट गरेर गठबन्धन र आफ्नो पार्टीभित्र कसरी सन्तुलन काम राख्ने, सबै साथीहरूको भावनालाई कसरी समेट्ने सोच्नुपर्छ’ सिटौलाले भनेका छन्, ‘यी सबै कुरा बुझेर नहतारिकन समयमा निर्णय लिने कुशलता प्रधानमन्त्रीमा चाहिन्छ ।’
यस्तो छ सिटौलाले देउवालाई दिएको सुझावः
-प्रधानमन्त्रीले सरकारलाई समर्थन गर्ने दलहरूको भावनालाई जोडेर हिँड्न सक्नुपर्छ । हतारिएर हुँदैन । माधवजीको स्थिति के हुने हो अहिले नै थाहा छैन । जसपाले पनि निर्णय गरिसकेको अवस्था छैन ।
-एमाले र जसपाको पार्टी विवाद बुझेर नहतारिकन समयमा निर्णय लिने कौशलता प्रधानमन्त्रीमा चाहिन्छ । त्यसैले प्रधानमन्त्रीलाई हतारो गर्नुहुँदैन भन्ने मेरो भनाइ छ ।
-मूल कुरा प्रधानमन्त्रीजीले गठबन्धन जोगाउनुपर्छ । गठबन्धनको भावनालाई मर्न दिनुहुँदैन ।
-विश्वासको मत लिने तयारीका साथ प्रधानमन्त्रीजीले अगाडि जाने कोसिस गर्नुपर्छ ।
-चुनावमा सबैभन्दा महत्त्वपूर्ण अर्थ मन्त्रालय हुन्छ, गृह मन्त्रालय हुन्छ । सबै आफैं राख्छु भनेर हुँदैन । निजामती कर्मचारीलाई नियन्त्रण र परिचालन गर्ने सामान्य प्रशासन मन्त्रालय पनि महत्त्वपूर्ण हुन्छ । कुन मन्त्रालय आवश्यक छैन भन्ने छैन । यस्तो अवस्थामा प्रधानमन्त्रीलाई सबै छोडिदिनुपर्छ । प्रधानमन्त्रीलाई यो गर र त्यो नगर भनेर हुँदैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij