वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार दिउँसो बस्नेगरी संसदीय दलको बैठक बोलाएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार दिउँसो तीन बजे बैठक डाकिएको छ ।
सर्वोच्च अदालतले ३ साउनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएपछि एमालेले त्यसैको तयारीका लागि बैठक राखेको हो । सर्वाेच्च अदालतको आदेशले सत्तारुढबाट प्रतिपक्ष बनेका एमालेकै केही सांसदले भने शेरबहादुर देउवाको सरकार गठनमा सहयोग गरेका छन् ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित राष्ट्रपति समक्ष निवेदन दिएका थिए । त्यसैगरी देउवाको पक्षमा संसदको बहुृमत रहेको सावित गर्न सर्वाेच्चमा प्रतिनिधिसभा पुनर्स्थापनका लागि दिएको निवेदनमा पनि उनीहरुले हस्ताक्षर गरेका थिए ।
एमाले भएर आफ्नो दलको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाइ अर्काे दलको नेतालाई समर्थन गरेको विषय पनि संसदीय दलको बैठकमा उठ्ने छ । पार्टी अनुशासन उल्लंघनको आरोपमा ती सांसदलाई कारबाही गर्नुपर्ने माग पनि पार्टीमा ओली पक्षका नेताले उठाउँदै आएका छन् । बालुवाटारको सरकारी निवास छाडेर बुधबार बालकोटस्थित घर फर्केपछि ओलीले माधव नेपालमाथि निकै कडा आक्रोस पोखेका थिए । बैठकमा देउवालाई सहयाेग गर्ने माधव नेपाल पक्षका सांसदमाथि कारबाही हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ साउनको अपराह्न ४ बजे प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
विपक्षी गठबन्धनको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेकपा एमाले अहिले प्रतिपक्षी भुमिकामा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij