वेबटिभी खबर
चितवन । अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मीहरू चिन्तित भएका छन् । अदालतबाट सामान्य धरौटीमा अभियुक्त धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ती सामुदायिक वन र सरोकारवाला निकायले चिन्ता प्रकट गरेका हुन् ।
सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अभियुक्त पक्राउ परिरहने र अदालतबाट धरौटीमा छुटिरहने प्रक्रियाले संरक्षणमा थप चुनौती थपिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले वन्यजन्तुको चोरी शिकारीमा संलग्न हुने अपराधीलाई कडाभन्दा कडा कारवाहीका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।
विश्वमा नै नेपाललाई चिनाउने राष्ट्रिय निकुञ्ज र यसमा पाइने एकसिङ्गे गैंडा, पाटेबाघलगायत वन्यजन्तुको चोरी शिकारी गर्ने तस्कर पूरा कारवाहीको भागीदार भएर छुट्दासमेत पुनः चोरी शिकारीमै संलग्न भएको तथ्यांक सार्वजनिक भइरहँदा अहिले अभियुक्तहरू अदालतबाटै धमाधम छुट्न लागेकामा सरोकारवालाले चिन्ता प्रकट गरेका हुन् ।
उनीहरुले एकसिङ्गे गैंडा नेपाल र भारतमा मात्रै पाइने र त्यसमध्ये पनि चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका वन क्षेत्रमा मुख्य बासस्थान रहेकाले सम्पूर्ण संघसंस्था र जनसमुदायलाई संरक्षणमा जुट्न अपिलसमेत गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले दुलर्भ वन्यजन्तु एकसिङ्गे गैंडा चोरी शिकारी गरेको अभियोगमा ११ जनालाई पक्राउ गरी अदालतमा पेश गरेकामा सात जना धरौटीमा रिहा भएका छन् ।
निकुञ्ज ऐनमा चोरी शिकार गरेकालाई १५ वर्षसम्म कैद र एक लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij