वेबटिभी खबर
स्याङ्जा । हरिनास गाउँपालिका-५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् ।
वि.सं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपंक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन् ।
परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा ८५ हजार लगानी गरेर व्यवसाय सुरु गरेको बताए ।
‘घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक-एकवटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ’, उनले भने, ‘अहिले फार्ममा ७३ वटा बाख्रा छन् ।’
किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा तीन लाख ५० हजार आम्दानी गर्दै आएको बताए । उनले १६ रोपनी जग्गामा केराखेती पनि गर्नुभएको छ ।
‘केराखेतीबाट वार्षिक एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएको छु । यो वर्ष दुई सय ९२ केराका बोट हावाले ढाल्यो’, उनले भने ।
अरूलाई यो गर्नुपर्छ भन्नुभन्दा आफैँले गरेर देखाउनुपर्छ भन्ने सोचसहित बाख्रा पालेको उनले बताए । उनको फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म १५ लाख लगानी भएको छ । उहाँको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन् ।
‘अहिले व्यवसाय राम्रो हुँदै गएको छ । उत्पादन गर्न सके बजारको समस्या छैन । खसीबोका पोखरा पठाउँछु’, किसान क्षेत्रीले भने, ‘चरन क्षेत्रको समस्या छैन ।’
यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन् । एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ ।
‘व्यवसायबाट सन्तुष्ट छु । बाख्रापालन र केराखेतीबाट मासिक एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ’, उनले भने, ‘मालिक बन्छु भन्ने सोच राखियो भने प्रगति हुँदैन । आफू सक्रिय भएर व्यवसाय थाल्ने हो भने सफल बन्न सकिन्छ, विदेश जानुपर्दैन ।’
सरकारबाट अनुदान नलिएको उनले बताए । नगद नभई दानापानीमा अनुदान दिनुपर्नेमा उनको जोड छ । क्षेत्रीले बाख्रा र केरा बेचर बुटवल, सुनवल, चितवन, मिर्दी भिमाद सडकमा घडेरी किनेको बताए ।
उनले गाउँमा गाह्रोसाह्रो पर्नेलाई दिएको ७५ लाखसम्म पुगेको बताए । गाउँपालिकाका कृषि अधिकृत हरिप्रसाद गैह्रेले पालिकाले किसानलाई निःशुल्क उपचार तथा औषधि वितरण, परामर्श, घाँसका बीउ वितरणलगायत सहयोग गर्दै आएको बताए ।
उनले भने, ‘गत वर्ष दुईवटा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन थिए । त्यतिबेला २८ वटा शुद्ध बोयर बीउ बोका वितरण गरियो । तीन सयभन्दा धेरै कुखुराका चल्ला पनि वितरण गरियो । यो वर्ष पनि किसानका मागका आधारमा काम गर्छौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij