वेबटिभी खबर
काठमाडौं । नेपाल र भारतका विभिन्न क्षेत्रमा भव्य रुपमा मनाइने जितिया पर्वको अवसरमा काठमाडौंको बुद्धनगरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल भारत महिला मैत्री समाजको आयोजनामा गरिएको कार्यक्रममा विभिन्न राजनीतिक दल, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, भारतीय दूतावासबाट गरिमा नौटयाल, नेपाल महिला संघका प्रतिनिधिहरु, मधेशी महिला समाजका प्रतिनिधिहरु, नेपाल विद्यार्थी संघ तथा नेपाल तरुण दलका महिला प्रतिनिधिहरु एवं विभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष एवं सांसद चन्दा चौधरीले जितिया पर्वको महत्वबारे प्रकाश पारेकी थिइन । महिलाहरुले आफ्नो सन्तानको सुख, समृद्धि र लामो आयुको लागि मनाउने विश्वकै एक कठिन पर्व भएको उनले बताइन् । तीन दिनसम्म व्रत बसेर मनाइने यो पर्वको अवसरमा उनले सबैलाई शुभकामना दिइन् ।

चौधरीले यस संस्थाबाट महिला सशक्तिकरणको लागि गरिएका सामाजिक कार्यक्रम, शान्ति र मित्रताको सम्वर्धन, शिक्षा र सीप विकासमा योगदान, सामाजिक विकासमा सहकार्य, गरिबी निवारणमा सहयोग एवम् विपद्मा परेका पीडितहरुलाई सहयोगसमेत गरेको जानकारी गराउँदै आगामी दिनमा पनि थप ऊर्जाका साथ यसरी नै जनताको सेवा गर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा सहभागी पूर्व उपसभामुख एवं पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले जितिया पर्वको महत्वबारे मन्तव्य राख्दै शुभकामना दिइन ।
त्यसैगरी भारतीय दूतवासबाट महिला प्रतिनिधिको रूपमा सहभागी गरिमा नौटयालले पनि मन्तव्य राख्दै जितिया पर्वको शुभकामना दिइन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij