वेबटिभी खबर
काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ ।
यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौं उपत्यका बाहिर जाने र काठमाडौं उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो ।
बैठकमा चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।
बैठकले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको विभागका निर्देशक÷प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए ।
उनकानुसार अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने÷गराउने र यात्रुलाई मादक पदार्थ सेवन गरी यात्रा नगर्न आग्रह गर्ने निर्णय भएको छ ।
‘सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्न र सम्बन्धित काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्र्ने, सवारी चालकले यात्रुलाई खाना÷खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्ने÷गराउने निर्णय गरिएको छ’, प्रवक्ता पनेरुले भने, ‘अनधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने÷गराउने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णय पनि भएको छ ।’
यसैगरी यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारीसाधन असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij