Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

चाडपर्व लक्षित सुपथ मूल्य पसलहरु कति सुपथ ? 

चाडपर्व लक्षित सुपथ मूल्य पसलहरु कति सुपथ ? 

  • 126
    SHARES
  • चाडपर्व लक्षित सुपथ मूल्य पसलहरु कति सुपथ ? 

    काठमाडौं । चाडपर्व नजिकिएसँगै खाद्य वस्तुहरुको मूल्य तिव्र गतीमा बढ्ने गरेको छ । आम उपभोक्ताहरु दैनिक उपभोग्य वस्तुको अभाव साथै मंहगीको सामना गरिरहेका हुन्छन् । यस्तो समस्याको अन्त्यका लागि सरकारले बर्षेनी ‘सुपथ मूल्य पसल’ खोल्ने गरेको छ । त्यहाँ बाहिरको भन्दा कम मूल्यमा उपभोग्य बस्तु बिक्री गर्ने गरिन्छ ।

    सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६५ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गरेको बताइन् ।

    काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले विक्री कक्ष सञ्चालित छन् । सूचना अधिकारी सुवेदीले भनिन्, ‘यस वर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल हामीले असोजको ३ गतेदेखि सुरु गरेका हौं र यो कार्यक्रम माघको २ गतेसम्म सञ्चालन गर्ने तयारी छ । पसलहरुमा दैनिक उपभोग्य सामानहरु दाल, तेल, नुन, चिनी, जस्ता खाद्य वस्तुहरु सुपथ मूल्यमा विक्री वितरण गर्ने गरेका छौ । यस वर्ष देशभर करिब ४२ वटा जिल्लाका ३५ वटा स्थानहरुबाट पसलहरु सञ्चालन गरिरहेका छौ । यसमा पनि काठमाडौं उपत्यकामा चारवटा कम्पनीका आफ्नै विक्री केन्द्रहरुबाट सञ्चालन भएका छन् भने दुईवटा पालिकाहरुसँगको समन्वयमा सञ्चालन गरेका छौ । यसमा दक्षिण्काली र चाँगुनारायण रहेका छन् ।’

    उनले दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको जानकारी दिएकी छन् । उनले सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो दश रुपैयाँसम्म छुट पाउने पनि बताइन् ।

    सूचना अधिकारी सुवेदीले भनिन्, ‘कम्पनीबाट निर्धारण हुने मूल्य भनेको बजार मूल्यलाई नै पनि ध्यानमा राखेर नै निर्धारण गर्छौ र मूल्य बजार मूल्य भन्दा केही हदसम्म कम नै रहेको हुन्छ । त्यसमा पनि चाडपर्व लक्षित सहुलियत मूल्य पसल भन्दैगर्दा खाद्य वस्तु अनुसार पाँच रुपैयाँदेखि १० रुपैंयाँसम्म प्रति केजी, प्रति लिटरमा छुटको व्यवस्था गरेको हुनाले बजारको मूल्य भन्दा कम नै छ ।’

    साथै, सरकारले नेपाल भित्रै उत्पादन भएका सामानलाई बढी प्राथमिकता दिएको र पसलहरुमा राखिने सबै सामान देशभित्रकै उत्पादन भएको भन्दै  हिमाली भेगबाट च्याङ्ग्रा र त्यहाँको रैथानी बाली ल्याएको साथै तराई भेगबाट खाद्य ल्याएर विक्री गर्ने गरेको सुवेदीको भनाई छ ।

    उनले विक्रीका लागि राखिएको सामानको गुणस्तर मापदण्डभित्र नै रहेको र यसको निरन्तर अनुगमन पनि हुने भएको हुनाले सरकारले विक्री गर्ने सामानको गुणस्तर राम्रो रहेको बताइन् । गुणस्तरहीन सामान विक्री भएमा त्यसलाई कारबाहीको दायरामा ल्याउने काम पनि गरिने छ । 
    सूचना अधिकारी सुवेदीले भनिन्, ‘हामीले वितरण गर्ने खाद्यवस्तुहरु पूर्ण रुपमा गुणस्तरयुक्त नै छन् । जुन खाद्य वस्तु केन्द्रमा विक्री गर्नको लागि खरिद गर्छौ । त्यो निश्चित मापदण्डभित्र बसेर खरिद गर्छौ । खाद्य वस्तुलाई भण्डारण गर्दा पनि निरन्तर रुपमा गुणस्तरलाई नियन्त्रण गर्नको लागि अनुगमन पनि गर्ने गरेको छ । विक्री गर्ने क्रममा पनि गुणस्तरको हेरेर मात्र गर्ने भएको हुनाले गुणस्तरको कुनै समस्या छैन् ।’

    यस वर्षको पसलको लागि सरकारले करिब तीन करोडको बजेट विनियोजन गरेको छ भने त्यसको दायरामा रहेर करिब ५० हजार क्वीन्टल खाद्य विक्री वितरण गर्ने योजना बनाएको छ ।सूचना अधिकारी सुवेदीले भनिन्, ‘यस वर्षको सुपथ मूल्य पसल सञ्चालनको लागि सरकारबाट करिब तीन करोडको बजेट विनियोजन भएको छ । त्यही बजेटको परिधिभित्र रहेर करिब ५० हजार क्वीन्टल खाद्य विक्री वितरण गर्ने योजना बनाएका छौ । यही बजेटबाट सम्भव भयो भने बढि सामान पनि वितरण गर्छौ ।’

    कम्पनीले अनलाइन अर्डर लिएर होम डेलिभरीको सेवा दिइरहेको छ तर सेवा भने काठमाडौं उपत्यका, सुर्खेत र पोखरामा मात्र छ । पहिलो वर्ष खसीबोका, च्याङ्ग्रा धेरै आएको र ठूलो ठूलो आएको हुनाले विक्री राम्रो तरिकाले हुन सकेको थिएन भने यसपाली कम्पनीले पहिलाको संख्यालाई घटाएर एक हजार पाँच सय खसीबोका तथा तीनसय च्याङ्ग्रा काठमाडौँ ल्याएर थापाथलीबाट बिक्री गरिने जनाएको छ ।

    सुपथ मूल्य पसलबाट खरिद गर्ने ग्राहक उमेश राईले यस्तो सुपथ मूल्य पसलहरु खोल्नु राम्रो भएपनि यस्तो पसलको पहुँच गाँउ गाँउमा पुग्न नसकेको बताए । उनका अनुसार मुख्य बजारमा मात्र यसको प्रयोग सबैले गरेको छ तर यसबारे सबैलाई थाहा भएको छैन् । यस्ता पसलहरु चाडपर्व लक्षित मात्र नभई सधैँको लागि सञ्चालनमा आउन सक्यो भने जनताहरुको लागि सहज हुने पनि उनको भनाई छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । साल्ट टे«डिङ कर्पोरेसनले असोज ७ गतेबाट सुपथ मूल्य पसल सुरु गरेको छ । कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित १४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो । कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट गरेको छ ।

    कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, जाउलाखेल, स्वयम्भुका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै छ । उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका माग आधारमा पनि सेवा दिन सकिने गरी तयारी गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij