Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

साफ महिला फुटबल : भारतद्वारा पाकिस्तान पराजित

साफ महिला फुटबल : भारतद्वारा पाकिस्तान पराजित

  • 98
    SHARES
  • साफ महिला फुटबल : भारतद्वारा पाकिस्तान पराजित

    काठमाडौं । राजधानीमा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उक्त खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलअन्तरले पराजित गरेको हो । 

    भारतले खेलको सुरुआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो । खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । त्यस्तै मनिषा कल्यानले खेलको १७औँ मिनेटमा गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन् ।

    त्यसपछि खेलको पहिलो हाफको ३५औँ मिनेटमा बाला देवीले भारतका लागि गोल गरिन् । भारतकी डाङ्मेई ग्रेसले खेलको ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् र भारतलाई ४-० को अवस्थामा पुर्याइन् ।

    खेलको पहिलो हाफको अतिरिक्त समयमा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमार्फत गोल गरिन् । भारतकी असलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । खेलको पहिलो हाफसम्म ४-१ गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल गर्यो ।

    खेलको दोस्रो हाफको सुरुआतमै कायल मारी सिद्दिकीले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउने संकेत देखाएकी थिइन् । तर खेलको ७८औँ मिनेटमा भारतले पाँचौँ गोल थप्यो । भारतकी ज्योती चौहानले गोल गर्दै भारतलाई ५-२ को अग्रता दिलाइन् । 

    जीतसँगै भारतले प्रतियोगितामा तीन अंक जोडेको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश तथा समूह ‘बी’मा नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स रहेका छन् । 

    शुक्रबार दिउँसो १ः३० बजे पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच तथा दोस्रो खेल साँझ ५ः३० बजे नेपाल र भुटानबीच हुनेछ ।

  • सम्बन्धित विषय:

  • # पराजित

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij