वेबटिभी खबर
धनकुटा । नेपाली कांग्रेसकी नेत्री डा डिला संग्रौलाले पार्टीको आन्तरिक समस्या समाधान गरेर मात्रै नतिजा आफ्नो पक्षमा ल्याउन सकिने औंल्याएकी छिन् ।
शनिबार धनकुटामा नेपाली कांग्रेसको एकसय दिने विशेष अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै डा संग्रौलाले कांग्रेसका सबै तह र तप्काका कार्यकर्ता एवम शुभेच्छुकहरु आफ्ना समस्या समाधानमा दृढतापूर्वक लाग्नुपर्ने बताएकी हुन् ।
‘आफू मात्रै लोकप्रिय हुने लालसाले काँग्रेस समस्यामा परिरहेको छ । टिकट पाएर चुनाव हारे अर्काको कारणले र जिते आफू एक्लैले जितेको घमण्ड गर्ने प्रबृति छ । यस्ता समस्याहरुको बेलैमा समाधान निकाल्नुपर्छ,’संग्रौलाले भनिन्,‘तर अर्को इमान्दार तप्का पनि काँग्रेसभित्रै छ, उसलाई पद र प्रतिष्ठा बाहेक बलियो संगठन मात्रै चाहिएको छ । एकलौटी सरकार चाहिएको छ, अब त्यो काँग्रेसलाई हुर्कने र सप्रने मौका दिनुपर्छ ।’
फरक प्रसंगमा केन्द्रीय सदस्य एवम पेशागत एवम वुद्धिजिवी विभाग प्रमुख समेत रहेकी डा संग्रौलाले पूर्वगृहमन्त्री रवि लामिछाने मात्र नभइ सहकारीको पैसा अपचलन गरेको प्रमाणित भए आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर कारबाही गर्नुपर्ने बताइन ।
‘घटनाबारे सत्यतथ्य छानविन गरेर, आफ्नै पार्टीका, नाताका वा भाइ भतिजा भएपनि कारबाहीको भागिदार हुनुपर्छ । कानुनी कठघरामा ल्याइनुपर्छ,’संग्रौलाले भनिन् । उनी संगठन सुध्रिढीकरणको सय दिने अभियानका लागि केन्द्रीय प्रतिनिधि बनेर धनकुटा पुगेकी हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij