वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिनेमा विभाजित भएपछि अनौपचारिक रुपमा फुटेको एमालेको सोमबार बसेको बैठकले भने पार्टी एकताको संकेत गरेको छ ।वरिष्ठ नेता माधव नेपालले एमाले २ जेठ ०७५ कै बिन्दुमा फर्किए मात्र आफू एकताको पक्षमा रहने अडान राख्दै आएकोमा आज बसेको बैठकले नेपालको माग पुरा गरिदिएको सन्देश दिएको छ ।
एमालेले यही २ जेठमा गठन गरेको एकता कार्यदलले बुझाएको १० बुँदे सहमति अनुसार नै २ जेठ ०७५ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको हो । सोमबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बैठक बोलाउँदा केन्द्रीय सदस्यहरुलाई १४ औं बैठक भनिएको थियो । तर बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक उल्लेख छ । नेपाल पक्षको माग बमोजिम नै दशौं केन्द्रीय कमिटी बैठक राखिए पनि बैठकमा नेपाल पक्ष सहभागी छैन ।
नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राख्दै आएको थियो । यसअघि फागुन २८ देखि यसबीचाम एमालेका पाँच वटा केन्द्रीय कमिटी बैठक बसिसकेको छ । यसअघि एमालेको केन्द्रीय कमिटी बैठक १८ र १९ असारमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।
सोमबार दशौं केन्द्रीय कमिटी बैठकमा कार्यदलले तयार पारेको १० बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया सुरु भएको ओली पक्षबाट कार्यदलमा रहेका एक सदस्यले जानकारी दिए । २७ जेठमा सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक कमिटी निष्क्रिय गरिसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij