वेबटिभी खबर
काठमाडौं । अजरबैजान एयरलाइन्सको विमान कजाकिस्तानकाे अक्ताउमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । समाचार एजेन्सी रोयटर्सले उक्त विमानमा ६७ यात्रु र ५ जना चालक दलका सदस्य सवार रहेकाे जनाएकाे छ । घटनामा धेरैको मृत्यु भएको र केहीकाे उद्धार गरिएकाे खबर छ ।
सो विमान दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अवतरणका क्रममा विमान दुर्घटना हुँदा त्यहाँ आगोको बादल देखिएको थियो । घटनास्थलमा राहत र उद्धार कार्य जारी छ ।यद्यपी दुर्घटना के कारणले भएको हो भन्ने बारे अझै केही खुल्न सकेको छैन ।
विमान अजरबैजानबाट रुसको ग्रोज्नीतर्फ गइरहेको थियो । बाक्लो हुस्सुका कारण उडानको रुट परिवर्तन गरिएको जनाइएको छ ।
विमान दुर्घटना हुनु अघि यसले विमानस्थलको धेरै राउन्ड लगाएकाे थियो र आपतकालीन अवतरणको लागि अनुमति मागेको थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा विमान दुर्घटना र आगो लागेको देख्न सकिन्छ । बीबीसीका अनुसार विमानमा लागेको आगो निभाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij