Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पत्रकारितामा कपीपेष्टको  गर्ने प्रवृत्ति बढ्यो  : मन्त्री लेखी

पत्रकारितामा कपीपेष्टको  गर्ने प्रवृत्ति बढ्यो  : मन्त्री लेखी

  • 250
    SHARES
  • पत्रकारितामा कपीपेष्टको  गर्ने प्रवृत्ति बढ्यो  : मन्त्री लेखी

    सर्लाही । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले पत्रकारितामा ‘कपीपेष्ट’ गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । 

    आमसञ्चार प्राधिकरण मधेश प्रदेशले बिहीबार सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरेको साइबर सुरक्षा र एआइ सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले देशैभर पत्रकारिता क्षेत्रमा कपीपेष्ट गर्ने परिपाटी बढेको बताएका हुन । 

    मन्त्री लेखीले राजनीतिक विषयलाई मात्रै समाचार बनाउनु पर्छ भन्ने मान्यता त्याग्न सञ्चारकर्मीसँग आग्रह गरे । उनले स्थानीय तह, प्रहरी, प्रशासनलगायतका निकायबाट सेवाग्राहीले के–कसरी सेवा पाइरहेका छन् भन्ने विषयको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्नुपर्नेमा जोड दिए । 

    विभिन्न निकाय र कार्यालयबाट सेवाग्राहीलाई हैरानी दिने काम भइरहेको भन्दै मन्त्री लेखीले समाजका हरेक विकृति, विसङ्गतिलाई बाहिर ल्याउने गरी कलम चलाउन अनुरोध गरे । उनले प्रदेशभरिका सञ्चारकर्मीको प्रोत्साहनका लागि प्रदेश सरकारका तर्फबाट तत्कालै सम्मान तथा प्रोत्साहनको कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।

    यस्तै अभिमुखीकरणको उद्‌घाटन सत्रमा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले समाचार सामग्री कति पठनिय छन् भन्ने कुराको गम्भीर समिक्षा गर्ने समय आएको उल्लेख गरे । जीवनको ऊर्जावान् समय सञ्चारकर्ममा खर्च गरेका सञ्चारकर्मीलाई रेडियो, टेलिभिजन, छापामाध्यम, अनलाइनलगायत सञ्चारका सबै क्षेत्रमा सङ्कट पैदा हुँदा निराश बनाइरहेको बताए । 

    कार्यक्रममा मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, मधेश प्रदेशसभा सदस्य जङ्गीलाल रायलगायतको उपस्थिति थियो । मधेश प्रदेशका आठै जिल्लाका सञ्चारकर्मीलाई साइबर सुरक्षा र एआइका सम्बन्धमा जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिरहेको आमसञ्चार प्राधिकरण मधेश प्रदेशले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij