Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

कोभिडले थलिएको पर्यटन क्षेत्र उकास्न के गर्ने ? 

कोभिडले थलिएको पर्यटन क्षेत्र उकास्न के गर्ने ? 

  • 68
    SHARES
  • कोभिडले थलिएको पर्यटन क्षेत्र उकास्न के गर्ने ? 

    काठमाडौं । विभिन्न मुलुकका राजदूतहरुले कोभिड-१९ का कारण थलिएको नेपालको पर्यटनलाई उकास्न नयाँ रणनीतिक ‘प्रडक्ट’ र कार्यनीति आवश्यक रहेको सुझाएका छन् । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनीहरुले कोभिडको कारण थलिएको पर्यटनलाई चलायमान बनाउन नयाँ कार्यक्रम ल्याउन सुझाएको बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले जानकारी दिए ।

    राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भए पनि त्यसपछिका लागि अहिलेदेखि नै तयारी आवश्यक रहेको बताएका थिए । खोपको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उनीहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकाले त्यसतर्फ ध्यान दिई प्रवद्र्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिए ।

    यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महंगो भएकाले पर्यटक आगमनमा समस्या पर्ने गरेकाले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशिधर मिश्रले नेपालका लागि बङ्गलादेश ठूलो बजार रहे पनि सोहीअनुरूप काम हुन नसकेको धारणा राखे । बङ्गलादेशमा करिब डेढ करोड हिन्दू र ८० लाख बुद्धिष्ट जनसङ्ख्या भएकाले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बङ्गलादेशबाट ठूलो सङ्ख्यामा पर्यटक नेपाल लैजान सकिने बताए ।

    यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको धारणा राखे । उनले अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भए पनि विश्वमा अङ्ग्रेजी नबुझ्नेको सङ्ख्या ठूलो रहेकाले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिए ।

    यस्तै भारतस्थित नेपाली दूतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकाले भारतमा थप प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको बताइन् । श्रीलङ्कास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलङ्काको लागि प्रमुख आर्कषण लुम्बिनी भए पनि साहसिक पर्यटनको लागि पनि श्रीलङ्कन पर्यटकलाई नेपाल लैजान सकिने बताए । 

    नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका कामका सम्बन्धमा जानकारी गराउँदै बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समूहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताए । उनले बोर्डले दूतावासहरुसँग सहकार्य गरी पर्यटन प्रवद्र्धनका काम गर्ने बताए । 

    विभिन्न देशका राजदूतसँग निरन्तर छलफल गरिरहेको बोर्डले आज  भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भर्चुअल अन्तक्र्रिया गरेको हो । बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतसँग पनि अन्तक्र्रिया सम्पन्न गरिसकेको छ ।

    बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैली अपनाई नेपालको पर्यटकीय छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्य सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका बजार व्यवस्थापक (मार्केटिङ म्यानेजर) लक्ष्मण गौतमले जानकारी दिए । तस्बिर पर्यटकीय नगरी पोखरामा अवस्थित फेवाताल । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology