मुकेश झा
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाको साढे दुई किलोमिटर सडक कालो र चिल्लो देखिने भएको छ । नगरक्षेत्रमा अहिलेसम्मै ग्राभेल र ढलान सडकमात्रै थिए ।
नगरको क्षेत्रमा पर्ने बाँके–संग्रामपुर सडकमा हुलाकी सडक आयोजनाले गरेको कालोपत्रे मात्र थियो । यसबाहेक पालिका मातहतको कुनै पनि सडक कालोपत्रे भएको छैन ।
हरिपूर्वा नगरपालिका–६ को पशु सेवा केन्द्रदेखि पश्चिम धनकौल हुँदै डुमरिया जोड्ने २.५ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का लागेर आज शिलान्यास भएको छ ।
नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी, हरिपूर्वा ६ का वडाध्यक्ष राम सोगारथ राय यादव र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले संयुक्त रुपमा सडक कालोपत्रे गर्ने कामको शिलान्यास गरेका हुन् ।
सडक कालोपत्रेका लागि नौ करोड ४५ लाख ६६ हजार ५६२ रुपैयाँ दुई पैसामा ठेक्का लागेको नगरपालिकाले जनाएको छ । संघीय समपुरक अनुदानबाट बहुवर्षे योजना अन्तर्गत सडक कालोपत्रे हुन लागेको प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले जानकारी दिए ।
राष्ट्रिय योजना आयोग र नगरपालिकाले आधा-आधा बजेट बेहोर्ने सम्झौता भएको छ । सम्झौताअनुसार २०८३ साल साउन २० गतेभित्र सडक कालोपत्रेको काम पूरा गरिसक्नु पर्ने छ ।
जनप्रतिनिधिबीच विवाद भएर हरेक वर्ष आर्थिक वर्षको अन्तिमतिर मात्रै बजेट पारित भइ हतारमा योजना सञ्चालन हुने हरिपुर्वामा यो वर्ष भने असारमै बजेट पारित भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij