वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय संगठन र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ । पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरुप विश्वमा स्थापित विभिन्न राजनीतिक दलहरुको संगठन र अन्तर्राष्ट्रिय आन्दोलनको सदस्यता प्राप्त गर्ने तथा आपसी सम्बन्ध बढाउँदै लगिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपा नेपालको अन्तर्राष्ट्रिय आन्दोलन र संगठनसँगको सम्बन्ध विस्तारबारे पार्टी मातहत समिति र पार्टी सदस्यहरुलाई परिपत्रमार्फत जानकारी गराइएको प्रमुख बस्नेतले बताए ।जसअनुसार विश्वमा स्थापित राजनीतिक दलहरुको एसियाली साझा संस्था ‘सोक्डेम एसिया प्यासिफिक’ को फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको स्टेरिङ कमिटिको बैठकले जसपा नेपाललाई सदस्यता प्रदान गरेको छ ।
त्यसैगरी चिलीको राजधानी स्यान्टीयागोमा सम्पन्न ‘प्रोग्रेसिव एलाइन्स’ को ग्लोबल कन्फेरेन्सबाट जसपा नेपालले सर्वसम्मतिबाट सदस्यता प्राप्त गरेको छ । ‘प्रोग्रेसिव एलाइन्स’ श्रमिक, सामाजिक लोकतान्त्रिक र समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन हो ।
यसले समानता, स्वतन्त्रता, सामाजिक न्याय र ऐक्यबद्धतालाई विश्वव्यापी अभियानको रुपमा कार्य गरिरहेको छ । उक्त सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापाको सहभागिता रहेको थियो ।
जसपा नेपाल समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवादी लोकतन्त्रको आन्दोलनलाई अझ बढी सशक्त बनाउन कटिबद्ध रहेको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij