काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने जनाएका छन् । पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल लगायतको आग्रहपछि रावलले राजीनामा फिर्ता लिने भएका हुन् ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने आशय व्यक्त गरेका थिए । बिहीवार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेको एमाले स्रोत बताउँछ ।
ओलीको आग्रहपछि रावल वरिष्ठ नेता नेपाललाई भेट्न निवास कोटेश्वर गएका थिए । उनले नेपाललाई जसरी पनि पार्टी एकतालाई अघि बढाउन आग्रह गरेका छन् । नेपालले रावललाई राजीनामा फिर्ता लिन बुधवार उनको निवासमै गएर आग्रह गरेका थिए ।
१० बुँदे सहमति गराउन नेपाल पक्षको वार्ता टोली संयोजकको भूमिका निर्वाह गरेका रावलले शेरवहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह नेपालले नमानेपछि आइतबार सांसद पदबाट राजीनामा दिएका थिए । पत्रकारसमक्ष उनले राजीनामा दिएको घोषण गरे पनि संसद सचिवालयमार्फत सभामुखसमक्ष राजीनामा स्वीकृत भइसकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij