वेबटिभी खबर
जनकपुर । महालेखापरीक्षकको कार्यालयबाट जारी भएको लेखापरीक्षण प्रतिवेदन मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष पेस गरिएको छ । बिहीबार नायब महालेखा परीक्षक इन्द्र प्रसाद आचार्यले मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन बुझाएका छन् ।
प्रतिवेदनमा उल्लेख भएअनुसार २०८०/८१ मा प्रदेश मन्त्रालय, समिति र अन्य संस्थासमेत १५९ निकायको ४६ अर्ब ५ लाख ७ हजारको लेखापरीक्षण गरिएको छ । जसमध्ये जम्मा बेरुजु जम्मा १ अर्ब १६ करोड ३८ लाख २ हजार ठहर भएको छ । यो लेखापरीक्षण अंकको २.५३ प्रतिशत रहेको छ ।
गत वर्षको तुलनामा यो वर्ष राजस्व असुली ५.४० प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । यो वर्षको कुल राजस्व असुली लक्ष्या (अनुदान बाहेक) रु १५ अर्ब ७६ करोड २ हजार रहेकोमा रु १४ अर्ब ४० करोड ८३ लाख ७६ हजार असुली भई लक्ष्यको तुलनामा ९१.४२ प्रतिशत असुल भएको प्रतिवेदनमा उल्लेख छ ।
७ वटै प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेश प्रदेशकै भए पनि २०७५ देखिको विवरण हेर्दा क्रमिक रुपमा यस वर्ष मधेश प्रदेशको बेरुजु पहिले भन्दा कम हुँदै गइरहेको महालेखा परीक्षक आचार्यले जानकारी दिए ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भण्डारीले प्रतिवेदन अनुसार सम्बन्धीत मन्त्रालय, संस्था र निकायहरुलाई काम काजमा गम्भिर हुन निर्देशन दिने बताइन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij