काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विवाद समाधानका लागि पार्टीका सांसदहरुले १० सदस्यीय कार्यदलका नेताहरुसँग आइतबार (आज) छलफल गर्ने भएका छन् । सुदृढ र एकतावद्ध एमालेका लागि एकआर्काबीच छलफल गर्ने भएका हुन् ।
एमाले बचाउनका लागि सांसदहरुको अनौपचारिक रुपमा एक समूह नै बनाएर नेताहरुलाई दबाब दिइरहेको सांसद यज्ञराज सुनुवारले बताए । सिंहदरवारमा दिउँसो हुने छलफलमा कार्यदलका नेताहरु सबैलाई एकै ठाउँमा राखेर सांसदहरुले १० बुँदे सहमतिको बारेमा छलफल गर्न लागेका हुन् । कार्यदलले २७ असारमा तयार पारेको १० बुँदे सहमतिलाई नेतृत्वले मान्नु पर्ने र त्यसैको स्पीरिटअनुसार चल्नुपर्ने सांसदहरुको माग छ ।
विघटित कार्यदलमा नेपाल पक्षबाट भीम रावलको संयोजनमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङको संयोजनमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । एकता सुदृढीकरणमा सक्रिय सांसद तथा केन्द्रीय सदस्य सुनुवारले कार्यदलका दुवै तर्फका संयोजकहरु र अन्य नेताहरुसँग कुरा बुझ्ने र आफ्ना कुरा राख्ने गरी सांसदहरुलाई खबर गरिएको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology