काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन कार्यदलको बैठक आइतबार (आज) बस्दै छ । मन्त्रिपरिषद् विस्तार, मन्त्रालय भागबन्डा, राजदूतलगायतको नियुक्ति, कोरोना विरुद्धको खोप खरिद र सरकारको काम–कारबाहीलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
कार्यदलका सदस्य नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अपराह्न ४ बजे कार्यदलको बैठक बस्न लागेको बताए । शुक्रबार सत्ता साझेदार दलहरूका ७ सदस्य सम्मिलित कार्यदल गठन भएको हो । जसको नेतृत्व कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गरेका छन् ।
कार्यदलमा कांग्रेस महामन्त्री खड्का, कांग्रेस नेता डा.रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टी, नेपालबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।
आजको छलफलले राजदूत नियुक्तिलगायतमा पनि गठबन्धनका दलबीच भएका सहमतिका आधारमा नाम टुंगो लगाउने र सरकार सञ्चालनका लागि सहजता प्रदान गर्न निर्णय निकाल्ने पुनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij