मिलन दाहाल
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)–२०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले हात पारेको छ । मंगलबार राति सम्पन्न फाइनल खेलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसिबीले पहिलोपटक आइपिएल उपाधि जितेको हो ।
आरसिबीले चौथो प्रयासमा उपाधि जितेको हो । उसले सन् २००९, २०११ र २०१६ को आइपिएल फाइनलमा स्थान बनाएको थियो । तर, ती तीनवटै फाइनलमा आरसिबी पराजित हुन पुगेको थियो ।
९ वर्षपछि फाइनल खेलको पञ्जाबको उपाधि सपना भने फेरि अधुरै रह्यो । उसले दोस्रोपटक फाइनलमा स्थान बनाएर पनि उपाधि जित्न नसकेको हो ।
पञ्जाबले पछिल्लोपटक सन् २०१४ को आइपिएल फाइनल खेलेको थियो । उक्त फाइनलमा पञ्जाब कोलकातासँग पराजित भएको थियो । र, उसले त्यो क्रम २०२५ मा पनि दोहोर्यायो ।
यसपालि फाइनलमा आरसिबीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij