वेबटिभी खबर
सिरहा । लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय गोलबजारले पछिल्ला तीन दिनमा तीन फरक स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँच युवा र एक नाबालक रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन, गाँजा सेवनका उपकरण, धारिलो हतियारसमेत फेला परेको छ । गोलबजार नगरपालिका-४ स्थित क्याम्पस चौक नजिकै शंकास्पद रूपमा हिंडिरहेका अर्नमा गाउँपालिका-३ निवासी २० वर्षीय राकेश कुमार महतोको शरीर खानतलासी गर्दा दाहिने हातमा दुई साना प्लास्टिकका पोकामा ४४० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही ठाउँमा रहेको एक घरमा गोप्य सूचनाका आधारमा छापा मार्दा थप तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अर्नमा गाउँपालिका-३ का अभिषेक कुमार महतो ९२००, धनगढीमाई नगरपालिका-८ का सन्तोष कुमार महतो (२२) र औरही गाउँपालिका-१ का प्रदीप कुमार यादव (१८) रहेका छन् । उनीहरूको कोठाबाट दुई पोका खैरो हिरोइन ९०।९७
(मिलिग्राम), धारिलो चक्कु तथा वाटर गञ्ज समेत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै गोलबजार-५ स्थित डम्बर बहादुर मगरको खेतमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले २२ वर्षीय दिपेन कुमार साह र एक नाबालकलाई पक्राउ गरेको हो । दिपेनको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध बरामद गरिएको छ ।
पक्राउ परेकाले उक्त लागुऔषध बिमल कुमार महतोबाट बिक्रीका लागि पाएको स्वीकार गरेपछि बिमलको घरमा गरिएको खानतलासीमा जुत्ता-चप्पल राख्ने दराजमा लुकाइएको तीन पोका (४०० मिलिग्राम) लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारले लागुऔषधमा संलग्नहरूलाई नियन्त्रणमा लिन गस्ती, निगरानी र छापा अभियानलाई अझ तीव्र बनाइएको जनाएको छ । पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij